काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसालले विभिन्न समूहसँग गरेको सहमति कार्यान्वयनका लागि नै सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेको बताएका छन् ।
Advertisement
यसअघि, सरकारले सशस्त्र द्वन्द्वमा रहेको विभिन्न समूहसँग सम्झौता गर्दै बन्दी रिहाइ गर्ने प्रतिवद्धता जनाएकाले उक्त सम्झौता कार्यान्वयनको लागि नै अध्यादेश ल्याउन लागिएको आफूले बुझेको उनले बताए ।
भुसालले यो अध्यादेश रेशम चौधरीलाई मात्रै छुटाउन ल्याएको भनेर बुझ्न नहुने धारणा राखे । उनले संसद् नभएका बेला अध्यादेश ल्याएर कानुन बनाउने अधिकार रहेको जिकिर गरे ।
त्यस्तै, महासचिव भुसालले अहिले दलहरुबीच सरकार गठनका विषयमा छलफल नभएको बताए । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएपछि मात्रै सरकारका विषयमा छलफल हुने उनको भनाइ छ ।
उनले दलको नेता चयन भएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने पनि उल्लेख गरे ।