२०८१ पुष ७

गण्डकी प्रदेश : कांग्रेस संसदीय दलको चुनाव बुधबार, एमालेले आइतबार नै नेता छान्ने




पोखरा । मुख्यमन्त्रीमा दाबी गरिरहेको गण्डकी कांग्रेसले बुधबार संसदीय दलको चुनाव गर्ने भएको छ । गण्डकीको मुख्यमन्त्री कसको भागबण्डामा पर्छ भन्ने टुंगो नलागे पनि ठूलो दलको हिसाबले कांग्रेसले दाबी गरिरहेको छ । मुख्यमन्त्री बन्नको लागि संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण यहाँको कांग्रेस संसदीय दलमा चारजनाले आकांक्षा राखेका छन् ।

संस्थापन पक्षबाट संसदीय दलको नेतामा कास्की २ (ख)बाट चुनाव जितेका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा, राष्ट्रियसभामा कांग्रेसको संसदीय दल नेता भइसकेका गोरखाका सुरेन्द्रराज पाण्डे आकांक्षी छन् । पाण्डे गोरखा २ (ख)बाट चुनाव जितेका हुन् । इतर समूहबाट भने नवलपुर १ (क)बाट चुनाव जितेका महेन्द्रध्वज जीसी र स्याङजा २ (क)बाट चुनाव जितेका भोजराज अर्यालले दाबी गरिरहेका छन् ।

चारजनाले संसदीय दलको नेतामा दाबी गरिरहे पनि दलको नेता को बन्छ भन्ने चाहिँ चुनावबाटै टुंगो लाग्नेछ ।


Advertisement


निर्वाचनका लागि कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।
 
त्यसअघि, सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको थियो । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् ।

निर्वाचन समितिका संयोजक लामिछानेले चारजना आकांक्षी रहेको र सकेसम्म सर्वसम्मत अन्यथा निर्वाचनबाटै दलको नेता चुनिने जानकारी दिए । निर्वाचन प्रक्रिया मंगलबारबाट सुरु हुने उनले जानकारी दिए ।

पुस १३ गते नै गण्डकीमा ज्येष्ठ सदस्यको शपथग्रहण छ । १४ गते सबै सांसदहरुले शपथ लिनेछन् । त्यसअगावै कांग्रेसले संसदीय दलको नेता टुंग्याउन लागेको हो ।



गण्डकीमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा नौ गरी २७ सिट जितेको छ । चुनाव भएको खण्डमा हालसम्म संस्थापन समूहमा १४ र इतर समूहमा १३ सांसद देखिएका छन् । तर, निर्वाचन भएको खण्डमा उक्त संख्या तलमाथि हुनसक्ने आकांक्षीहरुले बताउँदै आएका छन् ।

यता, गण्डकीको दोस्रो ठूलो दल नेकपा (एमाले)ले भने आइतबार नै दलको नेता चयन गर्ने भएको छ । एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले सर्वसम्मत नै दलको नेता चयनको प्रयास हुने जानकारी दिए । सहमति नभए दलको नेता चयनको लागि आइतबार बिहान १० बजे प्रदेश कमिटीको बैठकबाट निर्वाचन समिति गठन गर्ने र दिउँसो निर्वाचन हुने उनले जानकारी दिए ।

गण्डकीमा एमालेबाट चुनाव जित्नेमा संगठन विभाग प्रमुख खगराज अधिकारी, पोलिटब्युरो सदस्य लिलबहादुर थापा, केन्द्रीय सदस्य भीम कार्की, सीता सुन्दास, गोविन्दबहादुर नेपालीसहित २२ जना सांसद छन् । प्रत्यक्षमा १२ सिट जितेको एमालेले १० सिट समानुपातिकबाट जितेको थियो । 

एमालेको दल नेता बन्न कास्की १ (क) का अधिकारी र समानुपातिकबाट सांसद बनेका पोलिटब्युरो सदस्य बागलुङका थापा आकांक्षी छन् । चुनाव अगाडि नै एमालेले खगराजलाई भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हुँदा दलको नेतामा उनैको सम्भावना बढी छ । 

तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)मा भने दलको नेता चयनको प्रक्रियाको कुनै टुंगो छैन । उसको प्रत्यक्षमा पाँच र समानुपातिकमा तीन गरी आठ सांसद छन् । अघिल्लो कार्यकालमा माओवादी संसदीय दलका नेता रहेका हरिबहादुर चुमान पुनः प्रदेशसभामा जितेका छन् । माओवादीबाट उनी नै दलको नेता बन्ने सम्भावना छ ।

Copy link