पोखरा । गण्डकी नेकपा (एमाले) संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटीको आइतबारको बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
Advertisement
अधिकारी कास्की १ (क) बाट चुनाव जितेका हुन् । अधिकारीलाई नै एमालेले चुनावमा भावी मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो । प्रदेशसभाको चुनावमा प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि कुल २२ सिट जितेको एमाले गण्डकीको दोस्रो ठुलो संसदीय दल हो ।
अधिकारीको एकल उमेदवारी परेपछि उनी सर्वसम्मत भएका हुन् ।
केन्द्रमा नाटकीय रूपमा गठबन्धन फुटेपछि यहाँपनि राप्रपाको सहयोगमा एमाले, माओवादीसहितको सरकार बन्ने सम्भावना छ । ६० सदस्यीय गण्डकीमा सरकार बनाउनका लागि ३१ सांसद चाहिन्छ । एमालेको २२, माओवादी केन्द्रको ८ (प्रत्यक्ष ५ र समानुपातिक ३) तथा समानुपातिकबाट २ सिट पाएको राप्रपा मिलेको खण्डमा ३२ सिटसहितको सरकार बन्न सक्छ ।