काठमाडौँ — गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा समसामयिक विषय र सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
Advertisement
गृहमन्त्रीको सचिवालय संयोजक दीपक बोहराले अहिले पनि सिंहदरबारमा पहुँच भएका व्यक्तिको मात्र प्रवेश हुने गरेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सहज प्रवेशको वातावरण बनाउनेबारे प्रधानमन्त्रीसँग कुराकानी भएको बताए ।
उनले भने, ‘गृहमन्त्रीजी र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएको हो । त्यस्तै सिंहदरबारमा काम हुने सर्वसाधारणलाई कसरी सहज प्रवेश गराउन सकिन्छ भन्नेबारे पनि उहाँहरूबीच छलफल भएको छ । त्यसका लागि गृहले कर्मचारी राख्न पर्ने भए त्यसका लागि पनि तयार रहेको गृहमन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको छ ।’
सुरक्षा संवेदनशीलताका कारण भन्दै सरकारले देशकै संघीय प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार प्रवेशमा कडाइ गर्दै आएको छ ।