२०८१ मंसिर ३

एकीकृत समाजवादीसँगको मिलनबारे एमालेमा दुई धार




नेकपा (एकीकृत समाजवादी) सँगको एकताबारे नेकपा (एमाले) मा दुई धार देखिएका छन्।

एमाले महासचिव शंकर पोखरेल र उनीनिकट नेताहरू एकीकृत समाजवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा छन्।

पोखरेलसँग निकट रहेका उपमहासचिव प्रदीप ज्ञवालीले एकीकृत समाजवादीसँगको एकतालाई लक्षित गर्दै सामाजिक सञ्जालमा यथास्थितिमा एकता गर्न नहुने बताएका छन्।


Advertisement


‘नेकपा एमालेको अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो। संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुने छैन।’

माधवकुमार नेपालले पार्टी विभाजन गरेको कुरा बिर्सन नसकिने घटना भएको ज्ञवालीले इंगित गरेका छन्।

‘इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन र बिर्सन हुँदैन,’ उनले लेखेका छन्।



दुबै पार्टीबीच एकता गर्ने विषयमा अहिलेसम्म एमाले र एकीकृत समाजवादीका नेताहरूबीच औपचारिक छलफल भएको छैन। दुबै पक्षका नेताहरूले आ-आफ्नो तहबाट एकताको प्रयास भने गरेका छन्।

एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्रीसमेत रहेका अर्का उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ एकीकृत समाजवादीसँग एकता गर्नुपर्ने पक्षमा छन्।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले त सार्वजनिक रूपमै एकीकृत समाजवादीलाई एमालेमा फर्किन जनताले म्यान्डेट दिएको बताउँदै आएका छन्।

एमाले पोलिटब्युरो सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेतले पटक-पटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटिसकेका छन्। एकीकृत समाजवादीका तर्फबाट उपमहासचिव गंगालाल तुलाधर, नेता मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ लगायतले एकताका लागि पहल गरेका छन्।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, प्रवक्ता जगन्नाथ खतिवडालगायत भने तत्काल एकता गर्न नहुने पक्षमा छन्।

दुई पक्षका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट गराउन प्रयास गरे पनि उनीहरूबीच भेट हुन सकेको छैन।

स्रोतका अनुसार नेपाल ओलीको निवास बालकोट जाने पक्षमा छैनन् भने ओली बालकोटमै भेट्न चाहन्छन्।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले दुई पार्टीका नेताहरू लचिलो भए एकता गर्न गाह्रो नरहेको बताए।

‘हामीले पार्टी एकता नगरी उपाय छैन। तर हामी सम्मानजनक एकता चाहन्छौं। दुबै पार्टीका तर्फबाट विभिन्न तहका नेताहरू सक्रिय छन्,’ उनले भने, ‘ओली र नेपाल दुबैले एकले अर्कालाई कति गलाउने भन्ने सोचेका हुन सक्छन्। तर आजको आवश्यकता पार्टी एकता नै हो।’

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि दुई पार्टीको एकता अहिलेको आवश्यकता रहेको बताए।

‘हामीबीच सैद्धान्तिक भिन्नता केही पनि छैन। दुई पार्टीका नेताहरूको व्यक्तिगत टकराव मात्रै हो,’ उनले भने,‘निर्वाचन सकियो।अब हामीले तिता कुरा बिर्सिएर पार्टी एकता गर्नुपर्छ। एमालेलाई संसदमा सबैभन्दा ठूलो दल बनाउनुपर्छ।’

Copy link
Powered by Social Snap