पोखरा । संवैधानिक अस्पष्टताका कारण प्रदेश सभाको बैठकमा मुख्यमन्त्री नजाने भएका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेता थिए । तर, नयाँ निर्वाचित प्रदेश सभा सदस्यहरूले सुरेन्द्रराज पाण्डेलाई कांग्रेसको संसदीय दलको नेता निर्वाचनमार्फत चुनेका छन् ।
Advertisement
अब हुने प्रदेश सभा बैठकले संसदीय दलको नेतामा पाण्डेलाई चिन्छ ।
संसद्मा गएर मुख्यमन्त्रीले सम्बोधन गर्न पाउने भएपनि प्रदेश सभाको नयाँ कार्यकाल सुरु भइसकेकाले उनी प्रदेश सभाका अबका बैठकमा मुख्यमन्त्री जाने छैनन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले संविधानमा पनि प्रष्ट व्यवस्था नभएकाले मुख्यमन्त्री प्रदेश सभा बैठकमा सहभागी नहुने जानकारी दिए ।
मुख्यमन्त्री पोखरेल प्रदेश सभाका ज्येष्ठ सदस्य तथा बाँकी सदस्यहरूको शपथग्रहण पनि सहभागी भएनन् ।
प्रदेश सभाका सदस्यहरूले पुस १४ गते शपथग्रहण गरिसकेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका छन् । बैठकको कार्यसूची तय नभएपनि सोमबार बिहान ११ बजे ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सर्वदलीय बैठक बोलाएका छन् । त्यहाँ नै कार्यसूची तय हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सम्भवतः सोमबारको बैठकमा सरकारले ल्याएका तीनवटा अध्यादेश पेस हुनेछन् । गण्डकीका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा प्रदेश सभामा पनि दोहोरिएकाले उनले नै अध्यादेश पेस गर्नेछन् । त्यसबाहेक अघिल्लो संसद्ले बनाएको प्रदेशसभा नियमावलीलाई सोमबारको बैठकले अंगीकार पनि गर्नेछ ।