माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो गरी लगातार ४ दिन बैठक गर्दा पनि नयाँ सरकारप्रति पार्टीको धारणा के हो निर्णयमा पुग्न सकेको छैन।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ।
Advertisement
शनिबार र आइतबार स्थायी कमिटी बैठक, सोमबार र मंगलबार पोलिटब्यूरो बैठक गरे पनि एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै ठोस निर्णय गर्न सकेन।
यो विषय अब सचिवालय बैठकमा छलफल गरी निर्णय गरिने भएको छ।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए।
एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ।
एकीकृत समाजवादीभित्र नयाँ सरकारलाई समर्थन गर्नुपर्ने र नगर्ने विषयमा नेताहरूको मतभेद छ। त्यसैले पनि यो विषयमा पार्टीले पर्ख र हेरको नीति लिएको देखिन्छ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आज केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारको तर्फबाट समर्थनका लागि औपचारिक पत्र नआएको र पत्र आए यसबारे छलफल गरी निर्णय गरिने बताए।
‘सरकारलाई समर्थन गर्नेबारे औपचारिक प्रस्ताव आएको छैन। प्रस्ताव आएमा सत्ता गठबन्धनमा रहेका अन्य दलका भूमिका पनि राम्रोसँग अध्ययन गरेर के गर्ने निर्णय पार्टीले गर्छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रचण्ड गत पुस १० मा सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रवक्ता खतिवडाका अनुसार वामपन्थीहरूका बीचमा एकता गर्ने र मोर्चा बनाउन पार्टी सधैं प्रतिबद्ध छ। र नयाँ सरकारका बारेमा पनि अब सचिवालय बैठकले छलफल गरी निर्णय गर्न सक्ने पोलिटब्यूरोले अधिकार दिएको छ।