राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा उम्मेदवार बनाइएका दुई जनाले बुधबार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर तुलसीपुर–घोराही चार लेन सडकखण्ड आयोजना रद्द गर्न माग गरेका छन्।
Advertisement
दाङको निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदी र २ का उम्मेदवार विशाल अधिकारीले मन्त्री श्रेष्ठलाई भेटेर निर्माण पूरा भई सक्नुपर्ने समयसम्म जम्मा दश प्रतिशतमात्रै भौतिक प्रगति भएको हुँदा सम्झौता रद्द गर्न माग गरेका हुन्।
उक्त सडक खण्ड २०७५ माग १४ गते ठेक्का सम्झौता भएको थियो।
सम्झौता अनुसार २०७७ वैशाख २९ गते काम पूरा भई सक्नुपर्ने थियो।
सडक विस्तारको काम भारतको तथ्य इञ्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले लिएको थियो।
यो बीचमा सात वटा पेटी ठेकेदार परिवर्तन भइसकेको छन् भने तीन पटक म्याद थप भइसकेको छ। तर, सडकको अवस्था जस्ताको तस्तै छ।
आयोजनाको हालसम्मको भौतिक प्रगति ९ दशमलव ८२ प्रतिशत र आर्थिक प्रगति ४ दशमलव ४२ प्रतिशतमात्रै भएको सरोकारवालाहरूले बताएका छन्।
सडक आयोजनाका लागि भारतीय एक्जिम बैंकको १ दशमलव ५ अर्ब सहुलियत ऋण लिएकोमा समयमै काम पूरा नहुँदा राज्यलाई करिब ८ करोड व्ययभार थपिएको उनीहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
त्यस्तै, सडक निर्माणमा भएको लापरबाहीले हालसम्म २२ जना बढीको दुर्घटनामा परी मृत्यु भएको उल्लेख छ।
सडकको दुरावस्थाका कारणले नागरिकले सास्ती बेहोर्नु परेको, व्यापार- व्यवसाय, पर्यटन, कृषि र जनस्वास्थ्यमा गम्भीर असर परेको कुरा ज्ञापनपत्रका समेटिएको छ।
त्यस्तै, हालसम्मको अवस्था अध्ययन गर्दा समयमा आयोजना पूरा हुने आधार नदेखिएको दाबी गर्दै आयोजना रद्द गरी समयमै नयाँ ठेक्का प्रक्रिया सुरू गर्न माग गरिएको छ।
आयोजनाको लागत रकम नेपाल सरकारको नियमित वार्षिक बजेटबाट सुनिश्चितता गर्न अनुरोध पनि गरिएको छ।