२०८१ पुष २६

सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेका छौं: परराष्ट्र सचिव पौडेल




परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रयत्नहरू जारी रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन्।


Advertisement


आइतबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रबीच सहमति जुटन नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरणसमेत दिए।

सचिव पौडेलले सबै सदस्य राष्ट्रको सहमतिमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखी हुन नसकेको स्मरण गराए।



उनले भने, ‘सार्कमा हामी अध्यक्ष छौं। तर, प्रक्रियाहरू अगाडि बढेनन् भन्ने कुरा छन्। यो बहुपक्षीयता र क्षेत्रियताका केही निश्चित सहमतिहरू हुन्छन्। त्यसमध्ये एउटा सार्क बनाउँदा प्रस्तावनामै सबै सहमत नभए कुनै पनि कुरा अघि बढ्दैन भन्ने छ। अहिले त्यही सहमति हुन नसकेर हो। सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन।’

सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्र छन।

ती सबै सदस्य राष्ट्रको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाइ छ।

बैठकमा समिति सभापति दिलकुमारी रावल (थापा)ले सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनि जिज्ञासा राखेकि थिइन्।

Copy link
Powered by Social Snap