साभार: सेतोपाटी
विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्यो। सबैभन्दा बढी असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे।
छ महिनादेखि बन्द रहेका विद्यायल अझै खुलेका छैनन्। केही देशले विस्तारै विद्यालय खुलाउन थाले पनि कतिपयले आगामी जनवरीसम्मै विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
अरू राष्ट्रजस्तै पूर्वी अफ्रिकी मुलुक केन्यामा पनि कोरोनाभाइरसको संक्रमण फैलिएको छ। कोरोना नियन्त्रणका लागि केन्यामा पनि धेरैजसो क्षेत्रहरू बन्द गरिएका छन्। सरकारले विद्यालय भने जनवरीसम्म बन्द गर्न भनेको छ।
लगातारको बन्दले त्यहाँका निजी विद्यालयका लगानीकर्ता र शिक्षक कर्मचारी आर्थिक समस्यामा परेका छन्।
कोरोना आउनुअघि म्वेए ब्रिथ्रेन स्कुलका कक्षाकोठामा विद्यार्थीहरूले पढ्दै गरेको आवाज सुनिन्थ्यो। अहिले त्यहाँ कुखुरा बासेको सुनिन्छ। कक्षाकोठाको बोर्डमा हिसाबका गुणनको सट्टामा कुखुरालाई दिइने भ्याक्सिनका तालिकाहरू लेखिन थालिएका छन्।
शिक्षाबाट आम्दानी हुन छोडेपछि केन्द्रीय केन्यन स्कुलका सञ्चालक जोसेफ मैनाले कक्षा कोठामा कुखुरा पालेर पैसा कमाउन बाध्य भएको बताएका छन्।
केन्या सरकारले मार्चमा विद्यालयलाई बन्द गर्न निर्देशन दिएको थियो। त्यत्तिबेला उनको बैंकमा ऋण चुक्ता गर्न बाँकी थियो।
‘पहिले त सबै गुमाएँ जस्तो भएको थियो। तर हामीले बाँच्नका लागि विद्यालयलाई केही गर्नु पर्ने सोच्यौं,’ मैनाले बिबिसीसँग भनेका छन्।
Advertisement
केन्याका निजी विद्यालयका शिक्षकको तलब विद्यार्थीहरूले तिर्ने शुल्कबाट पाउँथे। एकाएक विद्यालय बन्द भएपछि बोर्डिङ स्कुल आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा आइपुगेका छन्।
केन्या प्राइभेट स्कुल्स एसोसियसनका अनुसार केही विद्यालयहरूले अनलाइनमार्फत् पढाइरहेका छन्। तर उनीहरूले पाउने तलबले भने आफ्नो दैनिक खर्च धान्न गाह्रो भएको छ। इन्टरनेटको पहुँच सबैतिर नभएकाले अरू विद्यालयले त अनलाइन कक्षा पनि चलाउन सकेका छैनन्।
करिब ९५ प्रतिशत अर्थात् तीन लाख बढी निजी विद्यालयका शिक्षकहरू बेतलबी बिदामा बस्न बाध्य भएको एसोसियसनका प्रमुख कार्यकारी पिटर नडोरोले बताए। त्यस्तै एक सय ३३ विद्यालय त सधैँका लागि बन्द भइसकेका छन्।
केन्याकै अर्को रोका प्रेपारेटोरी नामक विद्यालयको परिसरमा पनि खेती गर्न थालिएको छ।
२३ वर्ष अघि स्कुल खोलेका जेम्स कुङ्ग युले भने,’यस्तो खराब अवस्था यसअघि कहिल्यै आएको थिएन।’
विद्यालयको खेल मैदानमा अहिले उनले तरकारी उब्जाउने गरेका छन्। तरकारी सँगसँगै उनले पनि कुखुरा पाल्न थालेका छन्।
‘मेरो पनि अरू विद्यालयको जस्तै अवस्था छ। मसँग कारमा पेट्रोल हाल्न पैसा छैन। शिक्षक तथा विद्यार्थीहरू आउन छाडे। मनोवैज्ञानिक रूपमा हामीलाई धेरै असर परेको छ,’ उनले भने।