नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन्।
Advertisement
बिहीबार विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै सांसद कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग हुन्छ कि भनेर विश्वासको मत दिएको बताएका हुन्।
‘सभामुख र उपसभामुख त संसदभित्रको कुरा भयो। म त्यसको कुरा गरिरहेको छैन। राष्ट्रपति र उपराष्ट्रपतिको पनि चुनाव हुँदैछ, त्यसमा देशभरिका प्रदेश सभा सदस्यले पनि मत दिन पाउँछन्,’ कोइरालाले भने, ‘त्यसमा सहयोग हुन्छ कि भनेर हामीले त्यस्तो गरेको हो।’
प्रधानमन्त्री प्रचण्डले पुस २६ मा संसदमा विश्वासको मत लिएका थिए। कांग्रेसले पनि उनलाई विश्वासको मत दिएर संसदलाई प्रतिपक्षविहीन बनाएको भन्दै आलोचना भइरहेको छ।