अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष तीन महिना कैद र ३९ लाख जरिवाना तिराउने अदालतले आदेश गरेको छ।
Advertisement
बुधबार विशेष अदालत काठमाडौंले उक्त फैसला गरेको प्रवक्ता दीपेन्द्र योगीले बताए।
यस्तै नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलगायत यो मुद्दामा मुछिएका व्यक्तिहरूलाई पनि तीन वर्ष कैद ३९ लाख जरिवाना तिराउने फैसला भएको छ।
तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।
न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए।
न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो। यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको थियो।