२०८१ मंसिर ४

सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न कहाँ अड्कियो हलो?




सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न हलो अड्किएपछि दलहरूले अहिलेको सत्ता गठबन्धन भत्काउन खोजिएको आरोप लगाएका छन्।

प्रतिपक्षी दलले सभामुखको निर्वाचन गराउन नचाहेको उनीहरूको आरोप छ।

निर्वाचनपछि चुनिएर आएका सांसदहरूले पुस १५ गते शपथ लिएपछि १८ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक बसेको थियो।


Advertisement


कानुन अनुसार नेपाली कांग्रेसबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षता बसेको सो बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गर्‍यो।

संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिनुपर्ने हुन्छ। त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचित भइसक्नुपर्ने छ।

पुस २७ गते निर्वाचन तालिकाअनुसार प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य रावल र सत्तापक्षले भागबण्डा गरेर माओवादीको भागमा परेकाले सोही दलका भीम भण्डारीले सभामुख पदका लागि मनोनयन दर्ता गरे।


पुस २८ गते बिहीबार दिउँसो १ बजे सभामुखको निर्वाचन हुने गरी सभाको बैठक डाकिएको थियो।

त्यसअघि सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य रावल नै उम्मेदवार भएपछि उनी पछिका अर्का ज्येष्ठ सदस्य कांग्रेसकै शिवराज भट्टले सभा चलाउनुपर्ने भयो। तोकिएको भन्दा ढिला गरी बैठक चल्यो।

बैठकमा प्रक्रिया पूरा गर्दा मुख्यमन्त्रीको शपथ ग्रहणको समय तोकिएको ४ बज्यो।

शपथ ग्रहणका लागि केहीबेर प्रदेश सभाको बैठक स्थगित भयो र एक घण्टापछि बस्यो।



बैठकमा माओवादीका भण्डारी सुदूरपश्चिमको सभामुख हुन चाहिने बहुमत पुर्‍याएर प्रदेश सभाको बैठक बसेको थियो। तर सत्तापक्षकै एक जनाको मत बदर भएपछि सभामुख चयन गर्न आवश्यक २७ मत पुगेन।

यस दिन सत्तापक्षका दुई जना सांसद पनि उपस्थित भएका थिएनन्।

बहुमत नभएपछि बैठक पुस २९ गते बिहान ११ बजे बस्ने गरी स्थगित भयो। तर,अहिलेसम्म बैठक नै बस्न सकेको छैन।

सत्तारूढ दलका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसका ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गरिरहेकाले बैठक बस्ने वातावरण नमिलाएको आरोप लगाएका छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य माओवादीका ओमविक्रम भाटले नेपाली कांग्रेसका कारण प्रदेश सभाको बैठक बस्न नसकेको बताए।

‘लामो समयदेखि लोकतान्त्रिक पद्धतिको पार्टी भन्दै आए पनि कांग्रेसले बैठक बस्न मानिरहेको छैन, कांग्रेसजस्तो पार्टीले यस्तो नगर्नुपर्ने,’ भाटले भने।

अहिले सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको छ।

कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया फेरि सुरू गर्नुपर्ने अडान लिएको छ।

कांग्रेस र एकीकृत समाजवादीले माघ २ गतेसम्म बैठक स्थगित गर्नुपर्ने भनिरहेका छन् भने सत्तारूढ दलहरू अहिले नै सभामुखको निर्वाचन गरिनुपर्ने भनिरहेका छन्।

Copy link
Powered by Social Snap