काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पुरानै विचार, दृष्टिकोण र सिद्धान्तले एमाले नसुध्रिने बताएका छन् । शुक्रबार नेता घनश्याम भुसाललाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष नेपालले एमाले नसुध्रिने निष्कर्षमा आफ्नो पार्टी र भुसाल पुगेको बताए ।
Advertisement
साथै अन्य नेताहरू पनि एमाले छाड्दै आउने दाबी उनको छ ।
उनले नेकपा (एकीकृत समाजवादी)लाई अब ‘हाम्रो र राम्रो पार्टी’ बनाउने पनि धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन इमान्दार कम्युनिस्टहरूलाई गोलबद्ध बनाएर एकताबद्ध रूपमा अघि बढ्ने उनको भनाइ छ ।
उनले विगतको समीक्षा गर्दै नयाँ ढंगले पार्टी सुदृढीकरण र पुनर्गठन गरेर अघि बढ्ने र बेग्लै पहिचान स्थापित गर्ने पनि बताए ।
एकीकृत समाजवादी प्रवेश गरेका भुसालले एमाले परित्याग गर्दै गत मंसिर ४ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएका थिए ।