२०८१ मंसिर ५

नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख




नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शनिबार पनि सत्तापक्षले सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन गर्न सकेको छैन।


Advertisement


गठबन्धनप्रति विश्वास नलागेकाे भन्दै नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेर निर्वाचनमा सहभागी नभएको हाे।

मन्त्री बनाउने विषयमा सहमति नै नगरीकन दुई जना मन्त्रीलाई मुख्यमन्त्रीले नियुक्त गरेकाे भन्दै नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छ।

सभामुख चयनका लागि दाेस्राे पटक भएको निर्वाचनबाट पनि सभामुखका लागि बनेका उम्मेदवारले बहुमत नपाएपछि सुदूरपश्चिम प्रदेश सभाले सभामुख पाउन सकेकाे छैन।

सभामुख चयनका लागि शनिबार बेलुका ६ बजे प्रदेश सभाकाे बैठकबाट सभामुखका लागि निर्वाचन भएको थियाे।

निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन कार्य पूरा नभएको हाे।




आज भएको चुनावमा कांग्रेसका सभामुख पदका उम्मेदवार मानबहादुर रावलले पक्षमा २२ र विपक्षमा २२ मत पाए। नागरिक उन्मुक्तिका ७ जना तटस्थ रहे।

दाेस्राे प्रस्तावमा सत्ता पक्षबाट माओवादीका भीम भण्डारीले पक्षमा २२ र विपक्षमा पनि २२ मत पाए। उनलाई पनि मतदान नगरी नागरिक उन्मुक्ति तटस्थ रह्यो।

यसअघि पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर बझाङबाट चुनाव जितेका माओवादीका भण्डारी सभामुख हुनबाट राेकिएका थिए। त्यसपछि सभामुख चयनका लागि २९ गते निर्वाचन हुने भनिए पनि दलहरूबीच सहमति नहुँदा प्रदेश सभाकाे बैठक बसेन।

संवैधानिक व्यवस्था अनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिनुपर्ने हुन्छ। त्यसैले माघको २ गतेभित्र सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचित भइसक्नुपर्ने छ।

यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४ सांसद छन्। यस्तै राप्रपा १ र स्वतन्त्र १ सासंद छन्।

यहाँ सभामुख चयनका लागि कम्तीमा २७ मत आवश्यक पर्छ।

Copy link
Powered by Social Snap