गत सेप्टेम्बर १६ मा ‘लन्डन फेसन वीक’ मा थुप्रै फेसन ब्रान्डले आफ्ना डिजाइनदार लुगा पेस गरे। प्रतिष्ठित मानिने उक्त कार्यक्रममा संसारका कुनाकुनाबाट नाम चलेका फेसन डिजाइनरले आफ्ना नयाँ र मौलिक डिजाइन लुगाफाटा प्रस्तुत गर्ने अवसर पाउँछन्।
औपचारिक रूपमा त्यो कार्यक्रममा नेपाली डिजाइनरले त्यो मौका पाएका थिएनन्। सेप्टेम्बर १६ मा भएको उक्त कार्यक्रममा भने अवसरको त्यो ढोका ‘मिशुस’ ब्रान्डका लागि खुल्यो।
यो ब्रान्ड मिशु श्रेष्ठको हो।
Advertisement
अन्तर्राष्ट्रिय बजारमा नेपाली डिजाइनरका कपडा कमै पुग्ने अवस्थामा मिशुस लन्डन फेसन वीकमा देखिँदा मिशुलाई गर्व अनुभव भएको छ।
‘लन्डन फेसन वीकमा सहभागी हुने सपना थियो। तर यति छिट्टो हुन्छ भन्ने सोचेकै थिइनँ,’कुरा गर्दै मिशुले भनिन्, ‘एकदमै खुसी लागेको छ। पहिलो पटक औपचारिक रूपमा सहभागी हुनु भनेकै गर्वको कुरा हो। मेरो लागि मात्र होइन देशकै लागि पनि गौरवको कुरा हो।’
यो सफलताले आफ्ना लागि मात्र नभई फेसनमा चासो राख्ने नयाँ पुस्ताका लागि पनि अवसरको ढोका खुला भएजस्तो उनलाई लागेको छ।
उनले थपिन्, ‘अन्तर्राष्ट्रिय बजारमा पुग्न र आफ्ना उत्पादन प्रस्तुत गराउन पाउनु नै ठूलो सफलता हो। त्यो मैले पाएँ। शब्दमा भन्न सक्दिनँ, त्यति खुसी मिलेको छ।’
लन्डन फेसन वीकमा उनले १४ डिजाइन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा मिशुले आफ्नी ७० वर्षीया आमालाई पनि सहभागी गराइन्।
‘आजसम्म जे जति काम गरेँ सबै आमाबाटै सिकेँ। त्यस कारण उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन्। उनकी आमा पनि उद्यमी हुन्।
मिशुस ब्रान्डका लुगा अन्तर्राष्ट्रिय बजारमा देखिएको यो पहिलो पटक भने होइन। मिशुका अनुसार जर्मनी, स्विट्जरल्यान्ड, बेलायत र क्यानडा गरी चार वटा मुलुकमा उनले कपडा पुर्याइरहेकी छिन्।
केही महिनाअघि उनले ‘फल कलेक्सन- २०२२’ अन्तर्गत नयाँ डिजाइनका कपडा ल्याएकी थिइन्। ती कपडा भियतनामी मोडल होङ लीले प्रदर्शन गरिन्। त्यो हार्पर्स बजार (फेसन म्यागजिन) भियतनामको जुलाई संस्करणमा फिचर्ड भएको छ।
‘मिशुसका डिजाइनलाई अन्तर्राष्ट्रिय बजारले रूचाएको छ,’ उनले भनिन्, ‘केही महिनाअघि मात्र फल कलेक्सनका लागि मैले ६ वटा फरक डिजाइन फोटो प्रदर्शनीका लागि भियतनाम पठाएकी थिएँ।’
उनी कतिपय डिजाइन मागअनुसार तयार गर्छिन्। कति शोकै लागि तयार गर्छिन्। सौन्दर्य प्रतियोगिताका स्टेजहरूमा पनि उनका डिजाइन देखिँदै आएका छन्।
५१ वर्षीया मिशुको दिमागले हरेक दिन पहिरनको नयाँ स्केच तयार गर्छ। फरक दिन, फरक स्केचले उनी आफैं पनि मोहित हुने बताउँछिन्।
‘यस्तो डिजाइन कुन बेला दिमागले तयार गर्छ भन्ने पत्तै हुँदैन,’ उनले भनिन्, ‘कहिलेकाहीँ एकैपटक पनि दिमागले थुप्रै डिजाइन बनाइसकेको हुन्छ। त्यसलाई तयार पार्दा स्केचभन्दा उत्कृष्ट बनिदिन्छ।’
मिशु कान्स फिल्म फेस्टिभलमा पनि पुगेकी छन्। सन् २०१८ को फेस्टिभलमा मिशुले डिजाइन गरेका कपडा त्यहाँ सहभागीले लगाएका थिए।
‘फेस्टिभलका अवार्ड विजेता अमेरिकी-डच अभिनेत्री सब्रिना काल्बासेभ र स्लोभेनियाकी अभिनेत्री कटियाना लिले मेरै डिनाइनको पहिरन लगाएका थिए,’ उनले भनिन्।
ट्रान्सजेन्डर मोडल अञ्जली लामालाई साथमा लिएर मिशु उक्त फेस्टिभलमा पुगेकी थिइन्। अन्तर्राष्ट्रिय बजारमा मिशुको डिजाइन पुगेको पहिलो कार्यक्रम त्यही नै थियो।
‘फेस्टिभल हेर्न पुगेका धेरैले मेरो डिजाइनको तारिफ गरे,’ मिशुले भनिन्, ‘अन्तर्राष्ट्रिय शोमा आफूले डिजाइन गरेका लुगा देख्न पाउँदा निकै खुसी लाग्ने रहेछ।
मिशुका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कला देखाउने दोस्रो अवसर बनेको हो लन्डन फेसन वीक। उनले देशमै हुने फेसन शोका निम्ति पनि आवश्यकता र मागअनुसार डिजाइन तयार गर्छिन्। तर स्वदेशभन्दा बढी माग विदेशमा छ।
मिशुस सन् २०१२ बाट सञ्चालनमा आएको हो। दस वर्षदेखि फेसन डिजाइनमा सक्रिय उनी व्यवसायिक परिवारमा जन्मिएकी हुन्। उनका आमाबुवाको सूर्या कार्पेट इन्ड्रस्ट्रिज छ जसले गलैंचा, कार्पेट, पश्मिना लगायत उत्पादन गर्छ।
औपचारिक शिक्षा काठमाडौंमा सकेकी उनले स्नात्तक तहको पढाइ जर्मनीमा पूरा गरिन्। फर्केपछि पारिवारिक व्यवसायमै लागिन्।
करिब २७ वर्षअघि उनको बिहे भयो।
‘हाम्रो समाजमा धेरै महिलाले बिहेपछि करिअर छाड्नुपर्ने बाध्यता छ। तर मलाई घरमै बसिरहन हुँदैन भनेर श्रीमान र परिवारले व्यवसायमा जोड्नुभयो,’ उनले सुनाइन्, ‘बिहे भएको तीन सातापछि नै म पारिवारिक व्यवसायमा आवद्ध भए।’
उनी ससुराबुवाको व्यवसाय, हिमालयन उडक्राफ्टमा पुगिन्। फर्निचर सम्बन्धी ज्ञान नभए पनि बिक्री र बजार सम्हालिन्। करिब तीन वर्ष काम गरेपछि ससुराबाले होटल निर्माण थाले। त्यो हो अहिलेको र्याडिसन होटल। मिशुले र्याडिसनमा रहेर हस्पिटालिटीका क्षेत्रमा पनि लामो समय काम गरेर अनुभव लिइन्। अहिले उनी र्याडिसनकी निर्देशक छिन्।
यता माइतीको व्यवसायमा पनि उनको साथ र सहयोग थियो। पश्मिना व्यवसाय फस्टाउँदै थियो। त्यो बेला पश्मिना निर्यात गर्ने क्रममा बुनेका कपडा (निट-वेयर्स) को माग आयो। डिजाइनरसँग भेट्ने र नयाँ कुरा बुझ्ने क्रम चलिरह्यो।
दुवै परिवारको व्यवसायमा व्यस्त भए पनि उनको आफ्नै व्यवसाय थिएन। विभिन्न कार्यक्रममा जाँदा मिशुलाई पारिवारिक नाताले नै चिन्थे।
‘फलानाकी छोरी, बुहारी, श्रीमती भनेर सम्बोधन गर्नुहुन्थ्यो। मेरो छुट्टै पहिचान नै थिएन,’ उनी सम्झिन्छिन्, ‘त्यसपछि आफैं केही गर्नुपर्छ भन्ने लाग्यो।’
पश्मिनाको काम गर्दा उनले डिजाइनबारे केही जानकारी लिएकी थिइन्। उनलाई यसमै केही गर्ने इच्छा लाग्यो। ज्ञान भने थिएन। त्यसैले घरसल्लाह गरेर सन् २०११ मा डिजाइन सम्बन्धी कोर्स लिन इटाली पुगिन्। इटालीको मिलन फेसन क्याम्पसमा ७ महिनाको कोर्स लिएर फर्किन्।
पढेको र सिकेको कुरालाई व्यवहारमा उतार्न उनले एउटा फेशन शो चलाउने तयारी गरिन्। घरमा प्रस्ताव राखिन्।
‘सात महिना पढेर आउँदैमा फेसन डिजाइनर बनिन्छ भनेर श्रीमानले उल्टै हतोत्साहित बनाइदिनुभयो,’ उनले भनिन्, ‘त्यसपछि गरेरै देखाउँछु भनेर पहिलो फेसन शोको तयारी गरेँ।’
उनले चार महिनामा ४० जनाका लागि ‘इभिनिङ वेयर’ र ‘रेडी टु वेयर’ डिजाइनका लुगा तयार पारिन्। सन् २०१२ नोभेम्बर २० मा पहिलोपटक र्याडिसन होटलमै फेसन शो चलाइन्।
‘देखाउनै भए पनि म गर्छु भन्ने इगो थियो, गरेँ पनि,’ उनले हाँस्दै भनिन्, ‘तर त्यसपछि के गर्ने सोचेकै थिइनँ।’
मिशु अलमल नै भइरहेका बेला इशानी श्रेष्ठ मिस नेपाल भइन्। उनले मिशुलाई कपडाहरू तयार गरिदिन अनुरोध गरिन्।
‘मैले मेरो शोका ड्रेसहरू छन्, जुन मनपर्छ, त्यही लगाउनु, एक-दुई वटा नयाँ पनि बनाउँला भनेँ,’ मिशुले सम्झिन्, ‘उहाँ ती लुगा लगाएर मिस वर्ल्डमा जानुभयो। अन्तर्राष्ट्रिय मञ्चमा स्वदेशी डिजाइनरका लुगा देख्दा एकदमै खुसी लाग्यो। अनि मलाई आफ्नै स्टुडियो खोल्नुपर्ने रहेछ भन्ने सोच पनि आयो।’
त्यही सोच साकार पार्दै सन् २०१३ मा उनले स्टुडियो खोलिन्। त्यति बेलासम्म पनि उनी धेरै समय आफ्नोभन्दा पारिवारिक व्यवसायलाई नै दिन्थिन्। ग्राहकले उनका कपडा महँगो पनि भन्थे। केही समयपछि उनलाई स्टुडियो समय बिताउने माध्यमजस्तो मात्र लाग्न थाल्यो। त्यसैले स्टुडियो बन्द गरेर अरू काममा व्यस्त भइन्।
उनी यसबाट पलायन भएकी भने थिइनन्। सन् २०१४ मा दोस्रो फेसन शो गरिन्। त्यो बेलासम्म उनले दुवै परिवार र श्रीमानको साथ र सहयोग पाउन थालिसकेकी थिइन्।
त्यसपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन। तर ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा लैजान एक्लै सम्भव नहुने महसुस गरिन्। अनि बेलायती नागरिक सिन्थियालाई ब्रान्ड म्यानेजर राखिन्। उनैलै बेलायत लगायत अरू देशमा मिशुस ब्रान्ड प्रचार गर्छिन्।
कोरोना महामारीमा काम ठप्प हुँदा पनि सिन्थियाको सल्लाहले मिशुसलाई फाइदा भएको थियो। सिन्थियाले मिशुलाई मास्क बनाउन सल्लाह दिइन्।
मिशुका अनुसार मिशुसले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर ढाका कपडाबाट मास्क बनायो र बेलायत पठायो। मास्क व्यवसाय राम्रो भयो। मिशुले मास्कमा विभिन्न देशका झन्डा अंकित गरिन्। सोहीअनुसार अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत मुलुकमा निर्यात गरिन्।
‘कोभिडका बेला मास्कको नसोचेको व्यापार भयो,’ उनले भनिन्।
त्यसपछि उनी अझै सक्रिय रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेकी हुन्।
अहिले मिशुसको कारखाना काठमाडौंको रातोपुलमा छ भने स्टुडियो थापाथलीमा। कामका लागि उनले ५ जना कर्मचारी राखेकी छिन्। उनी डिजाइन र फिनिसिङ हेर्छिन्।
उनले तयार पार्ने कपडाका लागि कच्चापदार्थ बाहिरबाटै ल्याउनुपर्छ। ऊन न्युजिल्यान्डबाट आउँछ, पश्मिना चीनबाट। गाउन बनाउँदा चाहिने सिल्क पनि आयात हुन्छ। सूती (कटन) भने केही हदसम्म यहीँ पाइने उनले बताइन्।
फेसन डिजाइनलाई रचनात्मक सिर्जना मान्ने उनी भन्छिन्, ‘डिजाइन बनाउन जति रमाइलो हुन्छ तयार भएपछि स्टेजमा देखाउन उत्तिकै आनन्द लाग्छ। फेसनमा शोको स्टेजमा आफ्ना डिजाइन देख्दा आफैंप्रति गर्व लाग्छ।’
फेसन र डिजाइनको क्षेत्र ठूलो भए पनि दक्ष जनशक्ति अभाव रहेको उनको भनाइ छ। त्यसकारण उनी महिला उद्यमीलाई यसमा आउन अनुरोध गर्छिन्।
‘डिजाइनहरू थुप्रै छन् तर अझै पनि अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने डिजाइनरको आवश्यकता छ,’ उनले भनिन्, ‘धैर्य र मेहनतका साथ गर्नुपर्छ। समय लाग्ला, अवश्य सफल भइन्छ।’
आगामी दिनमा विदेशमा पनि मिशुसको शाखा खोल्ने उनको लक्ष्य छ।