लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुख चुन्नका लागि आज दलहरूले मनोनयन दर्ता गराउँदै छन्।
प्रदेशसभा सचिवालयले दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम दर्ता गर्न यसअघि नै सूचना जारी गरिसकेको छ।
Advertisement
उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे गर्ने कार्यतालिका छ।
सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी व्यवस्था छ।
मंगलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको सुरूमा सभामुखको उम्मेदवारी प्रस्ताव हुनेछ।
सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको निर्वाचन प्रक्रिया सुरू हुनेछ।
सत्ता गठबन्धनबाट सभामुखमा नेकपा माओवादी केन्द्रबाट पाल्पाको निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित तुलाराम घर्तीलाई र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गुल्मीकी समानुपातिक सांसद मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद इन्द्रजित थारूले जानकारी दिए
सभामुखमा माओवादी र उपसभामुख राप्रपालाई दिने सत्ता गठबन्धन दलहरूका बीचमा सहमति भएको थियो।
लुम्बिनीमा नेपाली कांग्रेस पनि सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ।
कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने भन्ने बारे छलफल जारी रहेको बताए।
सभापति पुनका अनुसार नागरिक उनमुक्ति पार्टीसँग मिलेर कांग्रेस निर्वाचनमा होमिने छ।
नागरिक उन्मुक्ति पार्टीबाट उपसभामुख पदमा उम्मेदवारी दिने सहमति भएको उनले बताए। कांग्रेसले अन्य साना दलहरूलाई पनि मनाउने प्रयास जारी राखेको छ।
त्यस्तै, दिउँसो १ बजेसम्म माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ।
‘दलहरूबीच सहमतिको प्रयास भइरहेको छ,’ कांग्रेसका एक सांसदले भने, ‘अहिले हामी माओवादीसँग छलफलमै छौं।’
लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ। नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत, लोसपाका ३/३ र २ स्वतन्त्र सांसदहरू गरी कुल ५८ जना सांसदहरूले मुख्यमन्त्री बन्दा एमालेका लिला गिरीलाई समर्थन गरेका थिए।
मुख्यमन्त्रीको निर्वाचनलाई आधार मान्दा विपक्षी नेपाली कांग्रेसका २७ सांसद, एउटामात्रै सांसद रहेका नेकपा एकीकृत समाजवादी र जनमोर्चा समेत गरी २९ जना सांसद छन्।