माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित तुलाराम घर्ती लुम्बिनी प्रदेशसभाको सभामुखमा निर्विरोध रूपमा निर्वाचित भएका छन्।
प्रदेशसभा सचिवालयमा सोमबार गरेको मनोनयनमा सभामुखका लागि घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
Advertisement
सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दर्ता गरेका घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका आशिष चौधरी छन्।
उपसभामुखमा भने सत्ता गठबन्धनबाट राप्रपाकी मेनुका खाणसँगै अन्य दुई जनाको पनि उम्मेदवार दर्ता भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार उपसभामुखका लागि नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले पनि मनोनयन दर्ता गरेका छन्।
यसअघि २०७४ सालको निर्वाचनबाट पनि पाल्पा २(ख) बाट निर्वाचित घर्ती प्रदेश सभामा माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतक थिए।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित घर्ती लुम्बिनी प्रदेशको दोस्रो सभामुख हुने अवसर पाएका छन्।
अघिल्लो कार्यकालमा माओवादी केन्द्रकै पूर्ण बहादुर घर्ती सभामुख थिए।
एसएलसीसम्मको अध्ययन गरेका घर्तीले राजनीतिमा लाग्नुभन्दा अघि केही समय अध्यापन समेत गराएका थिए।
२०२५ साल साउन ५ गते रोल्पा नगरपालिका ३ मा जन्मिएका घर्ती माओवादी ‘जनयुद्ध’मा बसन्त उपनामले चिनिन्थे।
उनले ‘जनयुद्ध’को कमाण्डर भएर समेत जिम्मेवारी निभाएका थिए।
घर्ती २०४२ मा सपरिवार बसाइसराइ गरी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा बसाइ सरी आए पनि २०६८ सालदेखि भने पाल्पामा बसोबास गर्दै आएका छन्।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा बसोबास गर्दै आएका घर्तीले २०४७ सालमा नेकपा मसालबाट राजनीति सुरू गरेका थिए।
२०४८ सालमा नेकपा मसालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव रहेका घर्ती २०५१ सालमा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य भए।
२०५२ सालमा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ती २०५३ सालमा कपिलवस्तु फर्किएर भूमिगत राजनीति सुरू गरे।
माओवादी जनयुद्धमा ९ वर्ष भूमिगत रहेका घर्तीले धेरै समय पाल्पामै बिताए।
२०५४ सालदेखि ६० सालसम्म पाल्पामा काज सरूवा भएका घर्ती मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष, मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष, पाल्पा पश्चिम कमाण्ड इन्चार्ज र पार्टीको जिल्ला सचिव समेत भए।
२०६१ सालमा पाल्पाबाट रूपन्देही सरूवा भएका घर्ती १ वर्ष कपिलवस्तु इन्चार्ज भएर काम गरे।
२०६२ सालमा भने उनलाई दाङ देउखुरीमा जनआन्दोलन कमाण्ड इन्चार्ज बनाएर पठाइएको थियो।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा घर्ती पाल्पा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।
संविधान सभा सदस्यमा पराजित भएपछि २०६५ सालमा नेपाल मगर संघको केन्द्रीय महासचिव र २०७० सालमा मगर संघको केन्द्रीय उपाध्यक्ष बनेर काम गरे।
२०७० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बने भने २०७५ सालमा तत्कालीन नेकपाको केन्द्रीय सदस्य बने।
नेकपा विभाजन पनि २०७८ सालमा माओवादी पोलिटब्युरो सदस्यमा चयन भएका घर्ती माओवादी केन्द्रको पाल्पा इन्चार्ज समेत रहेका छन्।