काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशशरण महतले संविधानमाथि खतरा उत्पन्न भएको बताएका छन् । उनले संविधानको पक्षमा उभिनुपर्ने बताएका छन् ।
Advertisement
संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधानको पक्षमा उभिने कि नउभिने भन्दै प्रश्न गरे ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनका विषयमा दिएको अभिव्यक्तिले फेरि संविधानमाथि खतरा देखिएको उनको भनाइ छ ।
“संविधानको पक्षमा उभिने कि नउभिने ? प्रचण्डजी गठबन्धन छोडेर जानुभयो । संविधानमाथि खतरा उत्पन्न भएको छ । ओलीजीले संसद् विघटन मुख्य मुद्दा बनाउनुभएको छ,” उनले भने, “त्यसैले हामी जागरुक भएका हौँ ।”
उनले आफ्नो स्वार्थको लागि दलहरुले मुन्टो लुकाए परिणाममा फरक पर्ने बताए । भने, “स्वार्थको लागि अन्य दलले मुन्टो लुकाउनुभयो भने परिणाम फरक पार्छ ।”
महतले वर्तमान सत्ता गठबन्धन जारी रहोस् भन्ने आफूहरुको मत रहेको बताए । भने, “वर्तमान गठबन्धन जारी रहोस् । हामीले सत्तामा जान यो कुरा गरिरहेका छैनौँ । संविधानको रक्षा नगर्नेलाई राष्ट्रपति दिँदा परिणाम के होला ? मूल्यांकन गर्नु जरुरी छ ।”