काठमाडौं । प्रतिनिधिसभाको नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
उपसभामुखमा निर्वाचित भएलगत्तै उनले विपक्ष दलका सांसदहरुलेसमेत उठाएका इस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताइन् ।
Advertisement
उपसभामुख राना मगरले संविधानले दिएको अधिकारभित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने बताइन् । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ छ ।
“सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ,” उनले भनिन्, “उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ । आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारीताका साथ सबैको पक्षमा बोल्नेछु ।”
उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्नेसमेत बताइन् ।