मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडामा मेला लगाउने भएपछि कपडा ब्यवसायीहरुले हल्का बिरोध गरेको सुनिएको थियो । तरलता अभाव भैरहेको बजारमा एउटा दुइटा ग्राहक मात्र आइरहेकोमा ती ग्राहक पनि मेला तिर लागेमा रैथाने कपडा ब्यवसायीलाई मर्का पर्ने नै हो कि ?
तरलता अभावको समयमा मेला भर्न जाने स्थानीय दर्शकको पैसा छिमेकी मुलुक वा छिमेकी जिल्ला गएमा स्थानीय बजारको कारोबारमा पछि सम्म केही असर पर्छ होला ।
बजारमा तरलता अधिक भएको बेला मनोरञ्जन , मेला आदि आयोजना हुने भएमा सान्दर्भिक नै हुन्छ होला । कोभिड , डेङ्गु ,चर्को ब्याज , तरलता अभाव ,सुस्त बजार आदि कुबेला आयोजित मेरो शहरको मेला हिजो घुम्न गैयो ।
Advertisement
रु६०/- टिकट काटेर भित्र पसे । एउटा स्टलमा बिजुलीको तापमा खुवा बनाउदै रहेछन् । आगोको तापमा घोटेको खुवा त खाएकै हो , यस्तो बिजुलीको तापबाट बनाएको खुवा खान मन लाग्यो र फुच्चे कागजको कपमा रु५०/- तिरेर खुवा त खाइयो तर जिब्रोले त्यति निको मानेन । काठमाडौको एउटा क्राफ्ट तथा गिफ्ट स्टलबाट एउटा ढाका टोपी रु३००/- मा किने । रैथाने कपडा व्यवसायीहरुको गुनासो जायजै हो कि जस्तो लाग्यो । मेलामा अधिकाँस स्ट्लहरु कपडा संबन्धी नै देखियो । १५०० सय को ज्याकेट मात्र ५०० मा भन्ने ठुलो आवाज ग्राहकको कानमा ठोकिन्थ्यो । ४०० को ज्याकेटलाई १५०० पुर्याइ ५०० मा बेज्न पो खोजेको हो कि जस्तो लाग्थ्यो ।
दुईवटा बैंकहरुले स्ट्ल बुक गरेका तर आफ्नो प्रोडक्ट बेच्न नराखी खाली राखेको अवस्थाले ती बैंकहरुले आयोजकलाई ” नाइ” भन्न नसकेको हो कि ? जस्तो लाग्यो ।
मेरो टोलका एक जना छिमेकीले आफ्नो बारिमा फलाएको मरिचको दुईवटा बोट र एउटा ठुलो काउली मेलामा प्रदर्शन गर्ने भनेर बडो उत्साहित हुँदै लगेको देखेको थिए । ती उत्पादनले ठाउँ नपाएर दर्शक नपुग्ने ठाउँमा अलपत्र परेर एउटा कुनामा राखेको देख्दा नरमाइलो लाग्यो । जुन वस्तु प्रदर्शन हुनु पर्ने त्यसले प्राथमिकता पाएन कि जस्तो लाग्यो ।
हेटौंडामा भएका अस्पताल र स्वास्थ्य संस्थाको सहयोगमा दैनिक निशुल्क स्वास्थ्य शिविर राखिएको रहेछ । तर मेला प्रवेश शुल्क रु ६० तिरेपछि मात्र स्वास्थ्य शिविर को सेवा उपलब्ध भएकोले निशुल्क सेवा भयो भएन ? तर्फ नसोची अघि लम्कियो ।
कन्सर्ट स्टेज र पिङ्ग तर्फ समय नखर्चेर मोबाइल स्टल तिर लागे । नचाहिने भएतापनी एउटा सानो मोबाइलमा आँखा गयो । कति भनेको ? १२५०/- मै लैजानु भने । रु १०००/- मा दिने हो भनेर जिस्काको लैजानुस भन्न थाले । लिनु परि हाल्यो ।
फुरन्दाना नमकिन र अचारका पसलहरु पनि निकै देखियो ।आफू कोलेस्ट्रोलको बिरामी भएकोले ट्रान्सफ्याट युक्त खानेकुरा खानु उपयुक्त नहोला भनी मुख अमिल्याउदै निकाश द्वार तर्फ निस्किनै लाग्दा गेटको मुखैमा अकस्मात दुई ग्रुपको फाइट चल्न थाल्यो । झमेलाबाट वचन फेरि स्टल तर्फ लम्के र एउटा स्टलमा रुके । महिला उद्यमिको स्टल रहेछ । दाइ २०० रु को चिट्ठा लिइ दिनु पर्यो भनीएको अनुरोधलाई नकार्न सकिन ।
अन्तमा , आफुले खर्चेको हिसाब गर्दा टिकट र चिठ्ठाको २६०/- हेटौंडा बस्ने भो। खुवा र टोपी को रु ३५०/ अर्को जिल्ला पुग्ने भो । १००० मा किनेको मोबाइलको कुन्नी कति पैसा बिदेश पुग्ने भो । रु १६१०/- को आर्थिक लगानीमा एउटा जिम्मेवारी( मेला हेर्ने ) पुरा गरेको महसुस गर्दै घर तर्फ लागे ।