हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो ।
विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् ।
Advertisement
संस्थाले हस्तकलाका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएको छ । महिलाको सशक्तीकरण, आर्थिक उत्थान र रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ वर्षअघि उक्त संस्था स्थापना गरिएको थियो । “अहिलेसम्म २१ हजार बढी महिलालाई सीप सिकाएर घरघरमा पठाएका छौँ, कोही आफैँ उद्योग खोलेर आयआर्जनमा लाग्नुभएको छ, कोही संस्थामा आबद्ध भएर काम गरिरहनुभएको छ”, संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले भन्नुभयो ।
संस्थाद्वारा सञ्चालित हस्तकला उद्योगमा धागो, अल्लो, हेम, ऊन, मकैको खोस्टालगायत स्थानीय कच्चापदार्थको प्रयोगबाट झोला, टोपी, कार्पेट, लुगा, सजावटका सामग्री आदि उत्पादन हुँदै आएको छ ।
“हामीले उत्पादन गरेको सामान अमेरिका, इटाली, जर्मनलगायतका देशमा निर्यात हुँदै आएको छ”, कार्यकारी निर्देशक खड्काले भन्नुभयो, “कोभिड १९ पछि हस्तकला व्यापार केही खस्केको छ, उद्यममा लाग्ने महिलाको सङ्ख्या पनि घटेको छ ।”
पहिले उक्त संस्थामा छ सय बढी उद्यमी महिला आबद्ध थिए । संस्थाको अन्तर्राष्ट्रिय बजार हेर्ने रश्मी शाक्यले वार्षिक रु दुई करोड बराबरको सामान विदेश निर्यात हुने गरेको बताउनुभयो । नेपाली बजारमा भने उत्पादनको २० प्रतिशत सामान मात्र खपत हुने गरेको उहाँको भनाइ छ ।
“हस्तकलाको सामान महँगो पर्ने भएकाले नेपाली ग्राहकको पहुँचमा खासै पर्दैन, पर्यटकीय क्षेत्र लेकसाइड, ठमेल जस्ता ठाउँमा बढी माग हुन्छ”, शाक्यले भन्नुभयो, “पछिल्लो समय उल्लेख्यरुपमा पर्यटक आगमन नहुँदा नेपाली बजारमा सामानको खपत कम छ ।” विदेशबाट माग आएपछि आवश्यक भन्सार प्रक्रिया पूरा गरेर सामान निर्यात गर्ने गरिएको छ ।
“५० प्रतिशत अग्रिम भुक्तानी लिएपछि मात्र मागअनुसारको सामान उत्पादन हुन्छ, सबै रकम आएपछि बल्ल कार्गो गरेर सामान विदेशी बजारमा पठाउँछौँ”, शाक्यले भन्नुभयो । हस्तकलाबाट विदेशी मुद्रा भित्र्याएर संस्थाले नेपाली अर्थतन्त्रमा टेवा पु¥याउँदै आएको उहाँको भनाइ छ ।
पोखरा–१४ की मीरा गुरुङले सीप विकास संस्थाले महिलालाई स्वरोजगार बन्न सिकाएको बताउनुभयो । “घरमै बसीबसी पनि हस्तकलाका सामान बनाएर बेच्न सकिन्छ, समय दिन र मेहनत गर्नसके यसबाट राम्रो कमाइ हुन्छ”, गुरुङले भन्नुभयो ।
उक्त संस्था स्वच्छ व्यवसाय समूह नेपाल, विश्व स्वच्छ व्यवसाय संस्था, नेपाल हस्तकला महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतमा आबद्ध छ । संस्थाले सहकारी र सिसु स्याहार केन्द्र पनि सञ्चालनमा ल्याएको छ । तालिम र आयमूलक कार्यक्रमलाई सँगसँगै अगाडि बढाइएको संस्थाका अध्यक्ष देवी गुरुङले बताउनुभयो ।
न्यून आय भएका महिलालाई लक्षित गरी सिलाइबुनाइ तालिम दिने गरिएको उहाँको भनाइ छ । उद्यमीले कटनको धागोलाई आफैँ रङ्ग्याएर हाते तान बुनाइबाट सामान उत्पादन गर्ने गर्छन् । हस्तकलाका सामग्री बनाउँदा प्राकृतिक रङको प्रयाग गर्ने गरिएको छ । पोखरा–८ सिमलचौरमा मुख्य र १३, १९ २७ र ३० मा संस्थाको ‘फिल्ड’ कार्यालय छ ।