२०८१ पुष ७

सडक पहुँचले पर्यटनमा सहयोग




“गुराँसको छेडोबाट हिमालको सौन्दर्य हेर्दै मोटरबाइकमा हिँड्नुको मज्जै बेग्लै”, शनिबार बेनीबाट बरङ्जाको झाँक्रीपानी घुम्न जानुभएका शोभित घिमिरेले भन्नुभयो, “वन, जङ्गल र भिर पहरा छिचोल्दै गाउँका बस्तीबस्तीसम्म मोटरबाटो पुगेपछि घुम्न जाने हामीलाई सजिलो भएको छ ।”

स्वरसम्राट नारायण गोपालको गीत झैँ, यतिबेला म्याग्दीका वन, जङ्गल लालीगुराँसका फूलले रङ्गिएका छन् । वनैभरि फुलेका लालीगुराँसका जङ्गलबाट उत्तरतिर देखिने चाँदी झँै टल्कने हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भिडले यतिबेला म्याग्दीका जङ्गलमा रौनक बढेको छ ।


Advertisement


म्याग्दीको सदरमुकाम बेनीबजारबाट पर्यटकीयस्थल टोड्केमा आउनुभएकी रक्षा पौडेल हिमाल र लालीगुराँसलाई पृष्ठभूमिमा राखेर तस्बिर लिन व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै आएका साथीहरू पनि लालीगुराँसमा रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थे ।

फागुनदेखि जेठसम्मको लालीगुराँस फुल्ने समय हो । राष्ट्रिय फूल समेत रहेको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जङ्गल र डाँडाकाँडामा पनि आगन्तुकको भिड देख्न सकिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्ली, टोड्केलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि दुई हजार आठ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा तीन हजार दुई सय १० मिटरमा रहेको पुनहिल आसपासको वन, जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेका छन् । नेपालमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा आठ प्रजातिका गुराँस फुल्ने गरेका छन् ।

लालीगुराँसकै छेडोबाट देखिने सेताम्ये हिमाल र मनमोहक प्राकृतिक छटामा मन्त्रमुग्ध हुँदै घुम्नेहरुको सङ्ख्या बाक्लो हुँदै गएको बेनी नगरपालिका–२ का स्थानीय नारायण सापकोटाको भनाइ छ । “जङ्गलैभरि लालीगुराँस र गुराँस हेर्नका लागि आएका आगन्तुकहरु मात्रै देखिन्छन् । कोही फोटो खिचिरहेका त कोही टिकटक बनाइरहेका हुन्छन्”, सापकोटाले भन्नुभयो । म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्ये फुलेका लालीगुराँसको लालिमाले हरियो वनजङ्गलमा थप सुन्दरता प्रदान गरेको छ ।



लालीगुराँससँगै रमाउने र तस्बिर खिचाउनेमा युवापुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्यालयका विद्यार्थी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएकाबेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्बिर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् ।

सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक डाँडामा पुग्ने गरेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेको हो । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।

Copy link
Powered by Social Snap