रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् । कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् ।
Advertisement
उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउनुहुन्छ । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उहाँको भनाइ छ ।
“हामीले कृषकलाई प्राङ्गारिक खेतीमा जोड्न गड्यौला मल उत्पादनको कार्यक्रम सञ्चालन गरेका हौँ”, प्रमुख खत्री भन्नुहुन्छ, “यहाँका ४० कृषकले यो मलको उत्पादन थाल्नुभएको छ । यो मलको धेरै फाइदा भएकाले किसानलाई जानकारी दिँदै मल उत्पादनमा प्रोत्साहन गर्दै आएका छौँ ।” गाई–भैँसीको मलमूत्रसँगै सड्ने झारपात प्रयोग गरेर गड्यौला मल तयार गरिने हुँदा अन्नबालीका लागि धेरै उपयोगी हुन्छ । यो प्रविधिबाट मल बनाउँदा गड्यौला पाल्नका लागि संरचना निर्माण गरेर त्यहाँ गड्यौला राखिन्छ । गड्यौला राखेको ठाउँमा पशु चौपायाको मललाई राखी दिएपछि त्यसलाई उनीहरुले आफ्नो आहाराका रुपमा खाएर दिसा गर्ने र त्यसैलाई मलको रुपमा प्रयोग गरिने उहाँ बताउनुहुन्छ ।
“यो प्रविधिबाट मल उत्पादन गर्दा पशु चौपायाको मलसँगै झारपात प्रयोग गरिन्छ”, प्रमुख खत्री भन्नुुहुन्छ, “गड्यौलाले खाएर गरेको दिसालाई मलका रुपमा प्रयोग गर्ने हो । यो मल वातावरणीय हिसाबले पनि निकै उपयोगी हुन्छ। यसले माटोको उर्वराशक्ति वृद्धि गराउँछ ।” गड्यौला मलको प्रयोगले प्राङ्गारिक उत्पादनमा सहयोग पुग्ने किसानहरुको भनाइ छ । गड्यौला मलको प्रयोग गर्दै आफूहरूले प्राङ्गारिक तरकारी फलफूल उत्पादनमा जोड दिने न्यू जिम्पु कृषक समूह टक्सारका अध्यक्ष रुद्रमणि राई बताउनुहुन्छ । गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यासमेत अन्त्य हुन्छ । “हाम्रो कृषक समूहका २० परिवारले यसको उत्पादन थालेका छौँ”, कृषक राई भन्नुहुन्छ, “यो मलको प्रयोग गरेर प्राङ्गारिक बस्तु उत्पादनमा जोड दिएका छौँ ।
गड्यौला मलको उत्पादनले रासायनिक मलको अभावमा झेल्नु परेको समस्यालाई समेत अन्त्य गर्ने हाम्रो उद्देश्य छ ।” माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल लाभदायक रहेको किसान राई बताउनुहुन्छ । गड्यौला मल उत्पादनका लागि ज्ञान केन्द्रले दुई कृषक समूहलाई रु २० लाख सहयोग गरिएको जनाएको छ । एक किसानले रु ५० हजार बराबरको गड्यौला पाल्न भर्मी बेड निर्माण गरेर गड्यौला मल उत्पादन गर्न थालेको छ ।
राम्रो ढङ्गले गड्यौला पाल्न सकेमा वर्षमा तीन पटकसम्म मल निकाल्न सकिने कार्यालयले जनाएको छ । एकवटा भर्मी बेडबाट औसतमा नौ मेट्रिक टनसम्म मल उत्पादन हुने कार्यालयका अधिकृत विशाल राईको भनाइ छ । “गड्यौला मलसँगै प्राङ्गारिक मलको प्रयोगमा किसानलाई प्रोत्साहन गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ, “किसानहरुले ४० वटा भर्मी बेडमा यो मल उत्पादन थाल्नुभएको छ । राम्रो ढङ्गले गड्यौला फस्टाए वर्षमा तीन पटकसम्म मल निकाल्न सकिन्छ । सरदरमा एक भर्मी बेडबाट नौ मेट्रिक टनसम्म मल उत्पादन गर्न सकिन्छ ।”