काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ ।
Advertisement
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनमा आयेजित कार्यक्रममा प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
संघीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग–अलग कार्यसूची तयार पारिएको छ ।
सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार, इकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।
कार्यसम्पादन सम्झौताको समयावधि एक वर्ष तोकिएको छ ।
हस्ताक्षरपछि सम्बोधनका क्रममा प्रधानमन्त्रीले तोकिएको कार्यादेश र कार्यविवरणअनुसार प्रभावकारी काम गर्न संघीय सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिए ।