२०८१ पुष ७

५५ वर्षदेखि हाटबजार

९० वर्षीया फूलमायाले गुजारा मात्र चलाएकी छैनन्, दुई छोरीको बिहे गरिदिइन्, घर–जमिन जोडिन्, अहिले नातिसमेत पाल्दैछिन्




झापा — भोजपुरको दलगाउँबाट लालाबाला च्यापेर तराई झापा झर्दा उनी पुग नपुग ३४ वर्षकी थिइन् । छोरीलाई स्कुल नपढाउने जमानाकी उनको बिहे २० वर्षकै उमेरमा भएको थियो । दुई छोरी च्यापेर ‘गरिखान’ ५६ वर्षअघि मधेश झरेको उनले सुनाइन् । त्यस बेला औलोको प्रकोप थियो । तर, उनलाई यसको परवाह भएन । एउटै चिन्ता थियो– ‘लालाबालासहित आफ्नो पेट कसरी पाल्ने ?’

धुलाबारीमा डेरा लिएर कामको खोजीमा भौंतारिइन् । एक दिन कसैले भनेछ, कसैको नोकरी गर्नुभन्दा आफैं व्यापार गरेको बेस । व्यापारका लागि पुँजी चाहिन्थ्यो । मजदुरी र सरसापटी गरेर केही रकम जुटाइन् । अनि थालिन्– चुरा, पोते, धागो र ढाका टोपीको व्यापार । ‘पैसा जुटाउन र व्यापार सिक्न एक वर्षजति लाग्यो,’ मेचीनगर–९ धुलाबारीकी ९० वर्षीया फूलमायाले युवा जोसका साथ ती दिन सम्झिइन्, ‘व्यापार सिक्नेबित्तिकै काम सुरु गरिहालें ।’


Advertisement


५ हजार लगानीबाट उनले व्यापार थालेकी थिइन्, धुलाबारी हाटमा । उनी यो हाटमा मात्रै सीमित रहिनन् । कहिले इलामको हर्कटे पुग्थिन् त कहिले फिक्कल । बाह्रघरे, गरुवा, शनिश्चरे, बाहुनडाँगी, बुधबारे, चारआलीजस्ता जिल्लाका चर्चित हाट उनले निरन्तर चहारिरहिन् । क्रमशः व्यापार सिक्दै गइन् । आम्दानी गर्दै गइन् ।

बदलिँदो समयसँगै त्यस्ता बजार संकटमा परे पनि गएको ५५ वर्षदेखि उनी नियमित हाट जान छाडेकी छैनन् । साप्ताहिक हाट बिस्तारै हराउँदै गएका छन् । सहर बढ्दै जाँदा सपिङ मल र व्यापारिक कम्प्लेक्स बढिरहेका छन् । ‘तर पनि म हाट धाउन छाडेकी छैन,’ धुलाबारीको सोमबारे हाटमा भेटिएकी उनले भनिन्, ‘पहिलाजस्तो व्यापार छैन ।’ उनी सोमबार र शुक्रबार धुलाबारी, आइतबार चारआली र बुधबार बुधबारे हाटमा पुग्छिन् । ‘सकुन्जेल व्यापार छोड्दिनँ,’ फूलमायाले सुनाइन्, ‘हिँड्नै नसकेका दिन हात उठाउँला ।’



उनका संघर्षका दिन भने जन्मेलगत्तैदेखि सुरु भएका हुन् । जब उनी एक महिनाजतिकी थिइन्, अचानक आगोको भुङ्ग्रोमा परिन् । दायाँ हात र खुट्टाका केही भाग जले । ‘मलाई कोक्रोमा राखेर दाइलाई बैनी हेर्दै गर्नु है भनेर छाडेर आमा दूध दुहुन जानु भएछ,’ उनले आफू अपांग बन्नुको कारण सुनाइन्, ‘आमा फर्किएर आउँदा त म रक्सी पार्न तयार पारेको भुङ्ग्रोमा परेकी रहेछु !’ त्यो समयमा न अस्पताल, न ओखतीमूलो, कसो कसो जडिबुटीले ज्यानसम्म जोगिएको उनले सुनाइन् । शारीरिक अशक्तताका बाबजुद यी कर्मशील आमाले व्यापारबाटै परिवार मात्रै धानेकी छैनन्, दुई छोरीको बिहे पनि गरिदिइन् । घर–जमिन जोडिन् । १० वर्षअघि पति बितेपछि उनी अहिले १२ वर्षे नातिको अभिभाकत्व सम्हालेर बसेकी छन् । तर, यो उमेरमा पनि उनले व्यापार गर्नचाहिँ छोडेकी छैनन् ।

थोरै लगानीको सानो व्यापारबाट गरेको आम्दानी जोहो गरेर उनले पहिला करिब डेढ कट्ठा जमिन किनिन् । पछि त्यही जमिनमा ४० लाख रुपैयाँजति खर्चेर घर बनाइन् । ‘५५ वर्षमा मैले कमाएको यत्ति नै हो,’ उनले भनिन्, ‘अब केही कमाउनु छैन मलाई ।’ धुलाबारी हाटका दिन उनी आफैं खाना पकाएर खाइबरी सबेरै पुग्छिन् । वर्षौंदेखि बस्दै आएको अड्डामा पहिला त्रिपाल बिछ्याउँछिन् । अनि, त्यसमाथि चुरा, पोते, धागो र ढाका टोपी क्रमैले मिलाएर राख्छिन् । पसलको मध्य भागमा पलेँटी कसेर ग्राहकको पर्खाइमा बसेपछि लामो सास तान्छिन् । ‘वैशाखदेखि व्यापार पूरै बिग्रिएको छ,’ भुइँमा राखेको ढाका टोपी मिलाउँदै उनले भनिन्, ‘कहिलेकाहीं त बोहनी पनि हुन गाह्रो हुन्छ ।’

Copy link
Powered by Social Snap