काठमाडौँ — कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले कांग्रेसको अबको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने रहेको बताएका छन् । उनले देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने र त्यसमा हरेक नागरिकको पहुँच पुर्याउनेमा कांग्रेस केन्द्रित रहेको बताए । कांग्रेसको काठमाडौं क्षेत्र नं ३ (ख) को प्रदेश सम्मेलनमा प्रवक्ता महतले विचार र सिद्धान्तका हिसाबले कांग्रेस अहिले सही ठाउँमा रहेको बताए ।
Advertisement
‘हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो,’ उनले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनुभएन । समृद्धि हासिल गर्न हामीले पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’
उनले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो,’ उनले भने ।
उनले पार्टी व्यक्तिकेन्द्रित हुन नहुने बताए । ‘कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ,’ उनले भने, ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ ।’
उनले कोही पनि व्यक्ति सर्वगुण सम्पन्न नहुने समेत दाबी गरे । प्रवक्ता महतले पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बढिरहेको भन्दै अब कांग्रेसका नेताहरूले पनि त्यसको प्रयोगलाई बढाउनुपर्ने बताए ।