काठमाडौँ — नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिबार काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै नेता सिंहले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताएका हुन् ।
Advertisement
पार्टीलाई विधिअनुसार चलाउनुपर्ने उल्लेख गर्दै नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिनसक्ने सकारात्मक म्यासेज नागरिकहरुमा बाँड्नुपर्ने बताए ।
‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरु त छन् । तिनीहरूले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्नेकुरामा प्रश्न सुरु हुन्छ,’ उनले भने ।
नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे । कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको मागअनुसार सुधार गरेर पार्टी अघि बढ्ने उनको भनाइ छ ।