२०८१ पुष ११

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि तत्काल पहल गर्छु : उपप्रधानमन्त्री खड्का




भैरहवा — उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल हुन नसक्नुको समस्या पत्ता लगाइ समाधानका लागि तत्काल पहल गरिने बताएका छन् ।

भैरहवामा शनिबार आयोजित नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री खड्काले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल बनाउनु पर्ने विषय चौतर्फी उठेको बताए । ‘म यहाँबाट राजधानी पुग्नासाथ यस बारेमा प्रधानमन्त्रीसमक्ष कुरा राख्ने छु,’ खड्काले भने, ‘उचित तरिकाले कसरी समस्या समाधान गर्न सकिन्छ ? समाधानको बाटोमा चाँडै अघि बढिने छ ।’


Advertisement


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सफल रुपमा संचालनका लागि श्रम स्वीकृति, भिसा र काठमाडौंमा रहेका ठूला ट्राभल एजेन्सी लगायतका सरोकार राख्ने विषयमा तत्कालै छलफल सहितको निकास निकालिने उनले बताए । बर्सेनि किसानले बेहोर्दै आएको मलखादको समस्या समाधान र सय रुपैयाँभन्दा धेरैको सामान भारतबाट ल्याउँदा भन्सार नाकामा लगाइएको प्रतिबन्धले सीमाक्षेत्रका सर्वसाधारण जनताले भोग्नु परेको कठिनाइबारे पनि समाधान गरिने उनले आश्वासन दिए ।



यस्तै संघीय शिक्षा ऐनलगायत्‌का सरकारले बनाउनु पर्ने सबै संघीय ऐनहरु तयारीको अन्तिम चरणमा पुगेको र संसद्‌मा चाँडै पेस हुने पनि उनले जानकारी दिए । स्थानीय तहमा भूमिसँग जोडिएका विषयमा सेवाग्राहीले धेरै शुल्क बुझाउनु परेको गुनासो जताततैबाट आउन थालेकाले भूमि सुधारसँग जोडिने पक्षसँग समन्वय गरी समाधान गरिने पनि उनले बताए । ‘यस बारेमा समस्या र समाधानको उपाय पत्ता लगाइ चाँडै एउटा निष्कर्षमा पुगिने छ’, उनले भने, ‘भूमिसँग जोडिएका समस्या समाधान गर्न मन्त्रिपरिषद् एकमत छ ।’

उनले नेपाली कांग्रेसलाई जनताको दुःख र सुखको साथी बनाउनु पर्ने बताए । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले पार्टीमा गुटबन्दीको सिर्जना हुन नदिन र पार्टीप्रति आकर्षण बढाउन पार्टीको तर्फबाट उपलब्ध गराइने हरेक पदका लागि एउटा व्यक्तिलाई दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाइने नियम लागू गरिनु पर्ने बताए ।

Copy link
Powered by Social Snap