२०८१ पुष ७

सत्ताबाहिर बस्नुपर्दा एमाले छट्पटिएको छ : पुन




काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासपचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन् ।  पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए ।


Advertisement


एमालेले जे सुकै विषयमा अवरुद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको आरोप पुनले लगाए ।



पुनले निःशर्त संसदको अवरोध हटाएर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न एमाले नेतृत्वलाई आग्रह गरे । सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छानबिन गरिरहेको भन्दै उनले उसले प्रतिवेदन तयार पारेपछि चित्त नबुझे छानबिन समिति गठन गर्न सकिने विकल्प रहेको उल्लेख गरे । तर, वर्षौंदेखि काम गर्दै आएका राज्यका स्थापित संरचना र विधिलाई कामजोर बनाउने गरी समिति गठनको माग राख्नु अनुचित भएको उनको भनाइ थियो । 

Copy link