नेकपा (एमाले) की सचिव पद्मा अर्यालले कार्यक्रमको मञ्चमा वक्ताबाहेकलाई अतिथि आसन ग्रहण नगराउने पार्टीको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयनमा जाने बताएकी छन्।
एमाले लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेकी अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुने भए पनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको लहरमै रहने बताएकी हुन्।
‘पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष केपी ओलीसहित आधा दर्जनभन्दा बढी पदाधिकारी सहभागी हुनुहुन्छ तर उहाँहरू सबै प्रतिनिधिकै लहरमा बस्नुहुन्छ,’ अर्यालले भनिन्।
Advertisement
एमालेले अब हरेक कार्यक्रममा आसन ग्रहण नगराउने र वक्तालाई मात्र मञ्चमा उपस्थित गराउने निर्णय गरिसकेको र यो निर्णयको कार्यान्वयन लुम्बिनीबाटै हुने उनले उल्लेख गरिन्। अन्य प्रदेशभन्दा पहिले हुन लागेको लुम्बिनी प्रदेशको अधिवेशनले सिंगो पार्टी पंक्ति र जनतामा समेत नयाँ सन्देश प्रवाह गर्ने अर्यालको दाबी छ।
प्रदेश अधिवेशनको तयारीकै क्रममा विभिन्न जिल्लाको वस्तुस्थिति बुझेर बुटवल आएकी अर्यालले एमालेले लुम्बिनीबाट प्रदेश अधिवेशनको सुरूवात गरेकाले यहाँबाट ऐतिहासिक र नमूना सन्देश प्रवाह गरिने बताइन्।
अधिवेशनमा नेतृत्वका लागि विभिन्न नामहरू बाहिर आइरहेका बेला अर्यालले भने मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिश रहने बताइन्।
‘सकेसम्म सर्वसम्मत् नेतृत्व छानौं भन्ने हो। त्यसो हुन सकेन भने पनि लोकतान्त्रिक विधिको प्रयोग गरी स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो खुला रहन्छ,’ उनले भनिन्।
निर्वाचनमा जाँदा कार्यकर्ताहरुको मन र भावना विभाजित नहोस् भन्नेतर्फ पार्टी पंक्ति सचेत रहेको उल्लेख गर्दै उनले सर्वसम्मत हुन नसके पार्टी नेतृत्वले कुनै जबर्जस्ती नगर्ने बताइन्।
‘नेतृत्वका लागि कसैले इच्छा देखाउनुहुन्छ भने उहाँको इच्छालाई पार्टी नेतृत्वले दबाउँदैन, इच्छुकले लोकतान्त्रिक विधिअनुसार स्वस्थ प्रतिष्पर्धा गर्न सक्नुहुन्छ,’ अर्यालले भनिन्।
अर्यालले अधिवेशनले लुम्बिनीमा पार्टीले लिने कार्यदिशा, सांगठनिक अनुशासन र पार्टी पंक्तिलाई परिचालन गरी जनतासँग एकाकार गर्ने कुरामा नयाँ मार्गनिर्देश गर्ने पनि बताइन्। वर्षा र गर्मीयामको समयलाई मध्यनजर गर्दै ठूलो जनसहभागिता नजुटाई अधिवेशन गरिने उनको भनाइ छ।
एमालेको लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुँदैछ। अधिवेशनमा रूपन्देहीसँगै छिमेकी जिल्ला कपिलवस्तु र नवलपरासीबाट जनसहभागिता रहने अर्यालले जानकारी दिइन्।
कुल ८२ हजार ३०३ पार्टी सदस्य रहेको लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार प्रतिनिधी छनोट हुने एमालेले जनाएको छ। जसका लागि भदौ ९ गते १०९ वटै पालिकाबाट एकैपटक प्रतिनिधि चयन हुँदैछन्।