गुम्बामा हुने पूजा, कार्जे तथा सार्वजनिक कार्यक्रममा परम्परागत पोसाकै लगाउँछन् चुमवासी
गोरखा — चीनसँग सीमा जोडिएको चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित निले गाउँका प्रायः घरमा कपडा बुन्ने तान छन् । घरायसी कामबाट फुर्सद मिलेका बेला स्थानीय महिला तानमा आफ्ना कपडा तयार पार्न बसिहाल्छन् । यहाँका बासिन्दा
आफ्ना लागि सकेसम्म आफैंले बुनेका कपडा लगाउँछन् ।
चुमनुव्री–७ की पेमा भुटी लामा फुर्सदमा खाली बस्दिनन् । उनको परिश्रमबाट बनेका आकर्षक पाङ्देनको चर्चा छिमेकी गाउँमा पनि हुने गर्छ । पाङ्देन विभिन्न रङ दिइएको रुमाल आकारको कपडा हो । ३५ वर्षीया पेमाले डेढदेखि दुई दिनमा पाङ्देन तयार पारिसक्छिन् । ‘काठमाडौंबाट धागो ल्याएर घरकै तानमा बुन्छौं,’ उनले भनिन्, ‘हाम्रो गाउँका धेरैजसोले घरमै बुनेका कपडा लगाउँछन्, कोही कोहीमात्र बजारबाट किनेर लगाउँछन् ।’ परम्परागत तानमा आफैंले तयार पारेका कपडा लगाएर हिँड्न पाउँदा छुट्टै आनन्द लाग्ने उनले बताइन् ।
Advertisement
पढाइका लागि काठमाडौंमा रहेका छोराछोरीलाई समेत गाउँमै कपडा तयार पारेर पठाउने गरेको उनले बताइन् । चिनियाँ ङुइला नाका खुला हुँदासम्म स्थानीयले काँचो धागो र ऊन तिब्बतबाट ल्याउँथे । अहिले काठमाडौंबाट मगाउँछन् । कोरोनाकालपछि नाका बन्द हुँदा धागो र ऊनको लागत बढेको स्थानीयको भनाइ छ ।
निले गाउँ मात्रै होइन, छेकम्पार वरिपरिका छोखाङपारो, जोङ, ङाक्यु र लेरु, बुर्जी, ङाग, लार, फुर्पे, पाङ्दुन र छुलेमा महिला पनि आफ्नै घरको तानमा कपडा तयार पार्छन् । ‘यी गाउँका तीन सयभन्दा बढी घरमा कपडा तयार हुन्छ,’ बुर्जीका छिरिङ लामाले भने, ‘केटाले लगाउने बख्खु, केटीले लगाउने आमदुङ, पाङ्देन, मिटिल सबै गाउँमै बन्छन्, लगाउने जुत्ताचाहिँ केटा मान्छेले बनाउँछन्, पहिले छालाको सोल हुन्थ्यो, अहिले जुत्तामा तलबाटै किनेर सोल ल्याएर कपडालाई कलर दिएर गाउँमै जुत्ता तयार हुन्छ ।’ कपडामा रङ दिन पदमचाल (जडीबुटी) राखेर पकाउने गरेको उनले सुनाए । ‘रङ तल (काठमाडौं) बाट किनेर ल्याउँछु, पदमचाल हालेर पकाएपछि जति ठूलो पानीमा भिजे पनि कपडाको रङ जाँदैन,’ उनले भने । बजारमा पाइने पाइन्ट, मोजाबाहेक अन्य कपडा गाउँमै तयार हुने उनको भनाइ छ ।
‘केटा, बूढापाका सबैले एकै किसिमका कपडा लगाउँदा देख्नेले पनि लेकाली ड्रेस भनेर चिन्छन्,’ उनले भने, ‘यस्तो लुगा लगाउन कसैले छाडेका छैनन्, धेरैजसोले आफ्नै घरमा तयार पारेका कपडा लगाउँछन् ।’ ऊन तयारी भए केजीको आठ सय र आफैंले कात्नुपर्ने भए तीन सय पर्ने उनले बताए । उनका अनुसार ऊन किनेर गाउँमै परम्परागत कपडा तयार पार्ने चलन धेरै पुरानो हो ।
निलेकी हिसे ल्यामुलाई पाङ्देनलाई आकार र रङ दिन दुई दिन लाग्छ । परम्परागत तानबाट आफ्ना लागि पाङ्देन बुनेकी उनी तीन छोराका लागि बख्खु पनि तयार पारिरहेकी छन् । निलेमा उनीजस्तै आफ्नो परिवारका सदस्यले लगाउने परम्परागत पहिरन बनाउन बिहानको खानालगत्तै गोठका चौंरी खर्कमा छाडेर तानमा बसिहाल्छन् । ‘हामी आफूले लगाउने कपडा आफैं बुन्छौ,’ उनले भनिन् । संस्कृतिसँगै भेषभूषाको समेत छुट्टै पहिचान बनाएका चुम क्षेत्रका बासिन्दा बख्खु, पाङ्देन, घुरे, थुइमालगायत पोसाक सितिमिति छाड्दैनन् । गुम्बामा हुने पूजा, कार्जे तथा सार्वजनिक कार्यक्रममा समेत यहाँका बालबालिकादेखि पाका पुस्तासम्म सबै परम्परागत पोसाकमै देखिन्छन् ।
लेकको चिसो हावापानीका कारण पनि न्यानो र बाक्लो कपडा लगाउनुपर्ने बाध्यता छ । यस्ता पोसाक तयार पार्ने सीप अधिकांश स्थानीय महिलाको हातमा छ । हिसेले परम्परागत पोसाक बनाउन आठ वर्षको उमेरमै सिकेकी थिइन् । ‘आमा, बज्यैले तान लगाएको देखेर मैले पनि जानें, ३० वर्ष भइसक्यो अहिले त सबै कपडा तयार पार्ने भइसकेकी छु,’ उनले भनिन् । आफूले तयार पारेका कपडा उनी सितिमिति बिक्री गर्दिनन् ।
आठ दिन लगाएर गलैंचा तयार पारेकी लारकी सेराप छेन्जोमले बिक्री गर्दा परिश्रम अनुसारको मूल्य नपाइने बताइन् । ‘यो बेचे आठ/दस हजार आउँछ, सानैदेखि जानेको कुरा फुर्सदका बेला बुन्ने गर्छु,’ उनले भनिन्, ‘विदेशी पर्यटकले पनि किन्न खोज्छन्, यतैका मान्छेले पनि किन्छन् । बिक्रीको त्यति धेरै चिन्ता हुँदैन तर मिहिनेत अनुसारको भाउ पाउन सकिएको छैन ।’ फुर्सदको समयमा तयार पारेका कपडा परिवारले लगाउनुका अतिरिक्त बिक्री गरेर नुनतेल तथा घट्टमा अन्न पिस्ने खर्चको जोहो भइरहेको उनले सुनाइन् ।