२०८१ पुष २१

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

साभार: रातोपाटी

२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख  कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो ।

घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ ।

प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रहरीले थुनामुक्त गरेको थियो ।

‘भिडियो नआएको भए, अझै दुःख पाइन्थ्यो होला’, गुप्ता भन्छन्, ‘चौकीमा पुगेपछि चाहिँ मलाई सौहार्दपूर्ण व्यवहार भयो ।’


Advertisement


उनकै टोलीले बुधबार कुलमानको पक्षमा अनामनगर क्षेत्रमा मसाल जुलुस पनि निकालेको थियो ।

उनको समूहले अहिले कपडा बैंक नामक अभियान पनि चलाइरहेको छ भने भोका श्रमिकहरुलाई रत्नपार्कमा खाना खुवाउने व्यवस्था पनि गरिरहेको छ । गुप्ता नोबेल कलेजमा जनस्वास्थ्य विषयमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

छानविन गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन गर्न मातहतको निकायलाई निर्देशन दिएको छ ।

महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार घटनाबारे छानविन गर्न भन्दै महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई पत्राचार गरिएको छ । साथै, दोषी पाइए कारबाही गर्न पनि भनेको छ ।

प्रहरीबाट आमनागरिकलाई कुटपिट गरेको घटना पटकपटक सार्वजनिक हुने गरेका छन् । सार्वजनिक वृत्तमा आलोचना भएपछि प्रहरीले कारबाही पनि गर्ने गरेको छ । यद्यपि, प्रहरी आचरण र व्यवहारमा सुधार आउन सकेको छैन ।

Copy link
Powered by Social Snap