२०८१ पुष ९

निजी क्षेत्रको सहभागिताले मात्रै देशको आर्थिक विकास सम्भव : राष्ट्रपति पौडेल




काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनकरूपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने बताएका छन् । बिहीबार शितलनिवास पुगेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् केन्द्रीय समितिका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले निजी क्षेत्रको उत्साहजनक सहभागिताले मात्रै देशको आर्थिक समुन्नति सम्भव हुने बताए ।

‘सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ,’ भेटमा राष्ट्रपति पौडेलले भने, ‘नेपालको अर्थव्यवस्थामा नीजि क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा छ, त्यसकारण पनि मुलुकको आर्थिक समुन्नतिमा निजी क्षेत्रको भूमिका अर्थपूर्ण छ ।’


Advertisement


राष्ट्रपति पौडेलले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको बताएका थिए । ‘रोजगारी सिर्जना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विध्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धिलगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ,’ राष्ट्रपति पौडेलले भनेका थिए ।



राष्ट्रपति पौडेलले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकर्षण गराएको बताए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आमनागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए। उनले स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी घरेलु उत्पादनमा जोड दिँदै आयात घटाएर निर्यात बढाउने तर्फ सबै लाग्नुपर्ने बताए ।

Copy link
Powered by Social Snap