विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पहिला आफूलाई संविधान मिचेको आरोप लगाउनेहरूको वास्तविकता अहिले देखिएको बताएका छन् । पहिले ‘स्याल हुइँया’ गर्नेहरू अहिले संविधानविपरीत काम गर्दा चुइँक्क नबोलेको ओलीले आरोप लगाए ।
Advertisement
आइतबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “उनीहरू त म्युजिकल चेयरका खेलाडीभन्दा माथिका पनि देखिएनन् ।”
कुर्सीमा कुदेर झ्याप्प बस्ने र विजेता घोषित गरिहाल्ने परिपाटी देखिएको ओलीको भनाइ थियो ।
कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वास मतको विषय कोट्याउँदै उनले मत सच्याउने समय घर्किसकेको अवस्थामा सभाध्यक्षलाई मतदान गराउनु तमासा मात्र भएको जिकिर गरे । सत्ता गठबन्धनको ध्यान कुर्सीमा मात्र भएको उनको आरोप छ ।
उनले भने, “संविधानविपरीत होस् कि कानुनविपरीत होस्, जसरी पनि सत्ता कब्जा गर्ने मनसाय देखियो ।”
कोसीमा संविधानविरुद्ध र लोकतन्त्रविरुद्ध बलमिच्याइँ भएको ओलीले बताए । सभामुख निष्पक्ष र तटस्थ हुनुपर्ने मान्यताविपरीतका काम कोसी प्रदेशमा भएको उनले बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा स्वागत गर्न कुनै अफ्ठ्यारो नभएको ओलीले सुनाए ।