काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी)को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताएका छन् ।
Advertisement
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले एमसीसीको व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेकाले समितिमा छलफल हुनुपर्ने बताए । उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्या देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे । उनले सीमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीकारूपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताए ।
“राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन् । केही जल्दाबल्दा विषयहरू छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ,” नेपालले भने ।