२०८१ पुष २६

जलवायु परिवर्तनका असरको क्षतिपूर्ति लिन सबैले पहल गरौं: मन्त्री महतो




वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनले पुर्‍याएको असरको क्षतिपूर्ति लिन सबैले पहल गर्नुपर्ने बताएका छन्।


Advertisement


आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै र नेपाल सरकारले जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने उनले बताए।

नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले शुक्रबार काठमाडौंमा गरेको जलवायुसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री महतोले भने, ‘कोप २८ मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको छ।’

उनले नेपालका हिमालमा जलवायु परिवर्तनले पुर्‍याएका असरबारे पनि कोप २८ मा जानकारी गराइने बताए।

जलवायु परिवर्तनको मुख्य जोखिममा महिला र बालबालिका बढी प्रभावित रहेको पाइएको उनको भनाइ छ।

कार्यक्रममा यूएन वुमन नेपालका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज्ले नेपाल सरकारले समावेशीताका लागि चालेका कदम महत्वपूर्ण रहेको बताएका थिए।



जलवायु परिवर्तनका असर कम गर्न नेपालले चालेका कदमको उनले प्रशंसा गरेका थिए।

‘हामी नेपाल सरकारसँग मिलेर जलवायुको असरले महिला तथा जोखिममा परेका समुदायका समस्या सम्बोधनमा काम गर्न इच्छुक छौं,’ उनले भने।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख बुद्धिसागर पौडेलले नेपालले सन् २०४५ सम्म कार्बन शून्यको अवस्थामा जाने लक्ष्य राखेकाले यी लक्ष्य प्राप्तिका लागि सरकार र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताए। 

आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले आफ्नो संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराएकी थिइन्।

‘अहिले हाम्रो काँधमा भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी छ,’ उनले भनिन्, ‘कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको छ। यसले खाद्य संकटतर्फ उन्मुख गराएको छ। अबको केही महिनामा नै विश्वका नेताहरू कोप—२८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भेला हुँदैछन्। हामीले जलवायु परिवर्तनको असरको बारेमा नीतिगत निर्माण गर्ने केन्द्रदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेका छौं,’ उनले भनिन्।

Copy link
Powered by Social Snap