माओवादी केन्द्रको कार्यक्रम ‘जनतासँग माओवादी’आजदेखि सुरू हुँदैछ।
माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियानको सुरूवात अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट सुरू गर्नेछन्।
गत स्थानीय निर्वाचनमा यो वडा मओवादीले जितेको वडा हो। त्यहीँबाट प्रचण्डले भर्चुअल माध्यमबाट देशका सबै वडामा एकसाथ अभियानको उद्घाटन गर्नेछन्।
Advertisement
तीन महिनासम्म चल्ने अभियानमा माओवादीका अध्यक्षदेखि प्रदेश पदाधिकारीसम्मका नेता कार्यकर्ता प्रत्येक वडामा जाने र सरकारले गरिरहेका काम तथा माओवादीको योजनाका बारेमा जानकारी गराउनेछन्।
त्यही कार्यक्रम अन्तर्गत माओवादीले प्रत्येक स्थानीय तहमा पहिलो चरणको तयारी बैठक सम्पन्न गरिसकेको छ।
अभियानका लागि केन्द्रीय पदाधिकारी खटिने क्षेत्र पनि तोकिसकेको छ।
जसअनुसार अध्यक्ष प्रचण्ड काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा जानेछन्।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिशिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका जेलवाङ रोल्पा,अग्नी सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोकमा र पम्फा भूसाल ललितपुर महानगरपालिका २२ मा खटिनेछन्।
यस्तै महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका ८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका ४, वर्षमान पुन काठमाडौं महानरपालिका १६, हरिबोल गजुरेल कमलामाई नगरपालिका, जनार्दन शर्मा चन्द्रागिरि नगरपालिका २, शक्ति बस्नेत भेरी नगरपालिका १ जाजरकोट र उपमहासचिव मात्रिका यादव विरेन्द्रनगर नगरपालिका १ मा खटिनेछन्।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासम्म पुग्ने बताएका छन्।