पाँच वर्षअघि अंकिता श्रेष्ठ र अजय श्रेष्ठ काठमाडौं विश्वविद्यालयमा सँगै एमबिए पढ्थे। पढाइकै क्रममा उत्पादन र बजार समेटेर ‘प्रोजेक्ट वर्क’ तयार गरेका थिए। त्यही प्रोजेक्ट वर्कको आइडिया विस्तार गरेर अहिले उनीहरू व्यवसाय चलाइरहेका छन्।
सिन्धुपाल्चोकका अजय र रूपन्देही, भैरहवाकी अंकिताको संयुक्त कम्पनी हो ‘फंकी मक्स’।
फंकी मक्सले ब्याग उत्पादन गर्छ – एउटा बस्ने, अर्को बोक्ने। अर्थात् एउटा बस्ने बिन ब्याग, अर्को सामान बोक्ने ब्याग (झोला)।
यी दुई उत्पादनका ब्रान्ड नाम पनि फरक छन् — फुमो र एस्त्र।
Advertisement
फुमो बिन ब्यागको ब्रान्ड नाम हो। बोलीमा ब्याग भनिए पनि यो बस्नका लागि कुर्सीको उपयुक्त विकल्प हो।
एस्त्र भने बोक्ने झोलाकै ब्रान्ड नाम हो।
अजय र अंकिताले पाँच वर्षअघि बिन ब्याग बनाउन थालेका हुन्।
कुनै उपयुक्त व्यवसायबारे सोच्दै गरेका समय २०७४ सालको एक दिन अजय एक जना साथीको घर पुगेका थिए। त्यहाँ बिन ब्याग देखे। त्यसले अजयको ध्यान तान्यो। त्यसमा बसे, सहज अनुभव भयो। नेपालमा यसको उत्पादन र व्यापारबारे खोज गरे। राम्रो सम्भावना रहेको ठहर गरेर उत्पादनका लागि अंकितासँग सल्लाह गरे।
‘बाहिरतिर बिन ब्याग धेरै प्रचलित छ। हामीकहाँ पनि यो ट्रेन्ड विकास गर्नुपर्छ भनेर उत्पादन गर्ने सोच बनाएका हौं,’ अजयले भने, ‘एकैपटक बजारमा आउँदा के होला, कसो होला भनेर ६ महिना बजार बुझ्यौं।’
उनीहरूले पहिलो चरणमा तीन लाख रूपैयाँ जुटाए। बिन ब्याग बनाउने तयारीका साथ अघि बढे। आवश्यक कच्चा पदार्थ खोजे। दुई जना कर्मचारी राखे। पाटनमा कारखाना खोले अनि थोरै संख्यामा बिन ब्याग बनाएर परिवारजन र साथीहरूलाई देखाए।
‘राम्रो प्रतिक्रिया पाएपछि हामी उत्साहित भयौं र परीक्षणका लागि २०७४ साल फागुनमा बिन ब्याग बजारमा ल्यायौं,’ अंकिताले भनिन्।
यसपछि उनीहरूले घर, कार्यालय, स्कुल, रेस्टुरेन्ट लगायतलाई लक्षित गरेर उत्पादन बढाए। इन्स्टाग्राम र फेसबुक पेज बनाएर विज्ञापन गरे।
यसरी सुरू भएको फुमो ब्रान्ड ग्राहकले रूचाएको र बजारबाट राम्रो प्रतिक्रिया पाइरहेको उनीहरू बताउँछन्।
‘यस्तो ब्याग परम्परागत सोफा वा कुर्सीभन्दा फरक र आरामदायी हुन्छ,’ अजयले भने, ‘बस्न सजिलो र शरीरलाई पनि राम्रो गर्छ।’
बिन ब्यागको भित्री भागमा आवश्यकता अनुसारको आकारमा फोम प्रयोग हुन्छ। कच्चा पदार्थ उनीहरू विदेशबाट मगाउँछन्।
फुमो बिन ब्यागमा दुई थरी उत्पादन छ– फिक्स्ड सेप र फ्री सेप।
फ्री सेप फुमोले जसरी बस्यो त्यसै अनुसारको आकार बनाउँछ। फिक्स्ड सेप चाहिँ तयारी फर्निचर जस्तो देखिन्छ। अधिकांश ग्राहकको रोजाइ फ्री सेप परेको उनीहरू बताउँछन्।
सामान्यतया एक जना बस्न मिल्ने बिन ब्याग बालबालिकाले बढी रूचाएका छन्। फुमोले ग्राहकको मागअनुसारको डिजाइनमा पनि बनाइदिन्छ। हाल फुमो बिन ब्यागको मूल्य तीन हजार सात सय रूपैयाँदेखि १२ हजार रूपैयाँसम्म छ।
सामान्यतया फुमोको उत्पादन अर्डरअनुसार मात्रै हुन्छ।
‘अहिले यसको मासिक सरदर ६ लाख रूपैयाँको व्यापार भइरहेको छ,’ अजयले भने, ‘मागअनुसार उत्पादन बढाउँदै जाने योजना छ।’
फंकी मस्कले बोक्ने झोला बनाउन थालेको भने कोभिडकालमा हो। यसको ब्रान्ड नामको अंग्रेजी हिज्जेले ‘अस्त्र’ पढिए पनि उनीहरूले यसलाई ‘एस्त्र’ भनेका छन्।
‘हाम्रो देशमा अझै पनि आयातीत ब्याग धेरै प्रयोग हुन्छ। विभिन्न डिजाइनका गुणस्तरीय ब्याग बनाएर स्वदेशी उत्पादन फैलाउन सकिन्छ। यही उद्देश्यले एस्त्र सुरू गरेका हौं,’ अजयले भने।
स्कुल, क्याम्पस र कार्यालय जाँदा बोक्ने यो झोलाको यात्रा पनि पढाइसँगै जोडिएको उनले बताए। एमबिएमा एक विषय ‘व्यवसाय र उद्यमशीलता’ थियो। त्यही विषयको पढाइक्रममा यसको योजना बनेको हो।
कोभिड लकडाउन बेला उनीहरूले ब्यागका डिजाइन खोजी गरे। परिमार्जन र परिष्कार गर्दै आफैंले केही डिजाइन तयार पारे। विद्यार्थी र कर्मचारीका लागि उपयुक्त ब्याग डिजाइन गर्न उति कठिन पनि भएन।
पहिले एउटा उपयुक्त डिजाइनमा ब्याग बनाउने र बजार परीक्षण गर्ने निर्णय भयो। अंकिता र अजयले फेरि तीन लाख रूपैयाँ थपे। सामग्री जुटाए। फुमोकै कारखानामा मेसिन, अन्य आवश्यक सामग्री र सिलाइ कर्मचारी प्रबन्ध गरे।
सुरूमा थोरै संख्यामा ब्याग तयार गरेर आफन्तजन र साथीहरूलाई देखाए। एस्त्रको अलग्गै फेसबुक र इन्स्टाग्राम पेज बनाए। त्यहीँ विज्ञापन गरे। व्यापार बढ्दै गएपछि एस्त्रको कारखाना पनि बेग्लै बनाए। आवश्यक कच्चा पदार्थ काठमाडौंमै उपलब्ध हुन्छ।
हाल सातामा बढीमा सय वटासम्म झोला बन्ने र साताभरमै बिक्री भइसक्ने अंकिताले बताइन्।
‘एस्त्रको मुख्य विशेषता आकर्षक डिजाइन नै हो,’ उनले भनिन्, ‘हाल चार डिजाइनमा ब्याग उत्पादन भइरहेको छ।’
एस्त्रको पहिलो डिजाइन ‘एरो प्याक’ हो। सबभन्दा बढी रूचाइएको पनि यही भएको अंकिताले बताइन्। सबै खाले प्रयोगकर्ताका लागि लक्षित यो ब्यागको मूल्य एक हजार आठ सय रूपैयाँ छ।
अर्को डिजाइनको ‘लिगेसी प्याक’ कार्यालय जाँदा बोक्न उपयुक्त हुन्छ। यसको मूल्य दुई हजार तीन सय रूपैयाँ छ।
अरू दुई डिजाइन ‘फ्यान्टम प्याक’ र ‘घोस्ट प्याक’ भने पुरूषका लागि लक्षित छ। यात्रामा उपयोगी हुने यी झोला विशेष गरी मोटरसाइकल चलाउनेका लागि उपयुक्त छन्। फ्यान्टमको मूल्य तीन हजार र घोस्टको दुई हजार सात सय रूपैयाँ छ।
‘नेपालमा बाइक चलाउनेहरूकै लागि भनेर झोला उत्पादन खासै हुँदैन। तर यसको आवश्यकता बढेको छ,’ अंकिताले भनिन्, ‘फ्यान्टम र घोस्ट त्यही आवश्यकता पूरा गर्न उत्पादन गरेका हौं।’
फंकी मस्कका उत्पादन यसको सामाजिक सञ्जाल पेजबाट किन्न सकिन्छ। पसल भने छैन। काठमाडौं उपत्यकामा फंकी मस्कले नै डेलिभरी गर्छ। काठमाडौंबाहिर पुर्याउन भने डेलिभरी कम्पनीहरूसँग सम्झौता छ।
अहिले कम्पनीमा अजय मार्केटिङ र उत्पादन हेर्छन्। अंकिता लेखा र अन्य व्यवस्थापकीय पक्ष हेर्छिन्। दुवैले आफ्नो पूरै समय कम्पनीमै लगाएको उनीहरू बताउँछन्।
दुवै ब्रान्डलाई ग्राहकको रोजाइको बनाउन कम्मर कसेर लागेका तीस वर्षे अजय र अंकिता भन्छन्, ‘हामीले हाम्रा उत्पादनमा नयाँपन दिन खोजेका छौं। धेरैले रूचाउनु पनि भएको छ।’