२०८१ पुष ७

प्रकाशमान सिंहको आक्रोश : कोरोनाको बेला समेत सरकारले तमाशा हेर्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन् ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उनले, यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप लगाए ।

‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’


Advertisement


सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिनु दुःखद भएको उनले बताए ।

यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको उनले बताए । 

कोरोना महामारीका कारण तत्कालै सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’ 

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उनले अब आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्यो अब यो भनिरहनु परेन,’ उन भने, ‘ अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेता सिंहले अब संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल हुनुपर्ने बताए ।

साभार: रातोपाटी

Copy link