२०८१ भाद्र २३

नेकपाको निमन्त्रणमा भाजपाका नेता नेपालमा

काठमाडौं । भारतीय विदेश विभागका प्रमुख विजय चौथाइवाले दुई दिने नेपाल भ्रमणमा आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा नेपाल आएका उनले आज प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेका छन् । दुई देशका सत्तारुढ दल समेत रहेका पार्टीबीच सम्बन्ध प्रगाढ बनाउनका लागि चौथाईवालेलाई नेकपाले नेपाल बोलाएको बताइएको छ । तर भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको कुरा नेकपा विदेश विभागको जानकारीमा छैन । विदेश विभागका उपप्रमुख विष्णु रिजालले भाजपाका विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएको जानकारी नेकपाका विदेश विभागलाई नरहेको बताए । 

स्रोतका अनुसार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको निर्देशनमा पार्टीका महासचिव विष्णु पौडेलले पत्र लेखेर विदेश विभागका प्रमुख चौथाइवालालाई नेपाल बोलाएका छन् ।  उनी नेपाल आएपछि औपचारिक रुपमा हालसम्म पार्टीका अध्यक्ष अ‍ोली र महासचिव पौडेललाई मात्र भेटेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग समेत उनले भेटेका छैनन् ।

यदि पार्टीको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका भए त्यसको जानकारी पार्टी र त्यसको विभागलाई हुनुपर्ने सोही पार्टीका एक नेताले बताए । चौथाईवाले पार्टीको निम्तामा आएका भए विदेश विभाग प्रमुख नेपालसँग भेटघाट र छलफल गनुपर्ने उनले बताए । तर चौथावालेको भेटघाट कार्यतालिकमा उनीहरुको नाम नरहेको स्रोतले जनाएको छ । 


Advertisement


नेकपामा आन्तरिक विवाद बढिरहेका बेला भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेलाई बोलाएर प्रधानमन्त्री ओलीले आफ्नै निवासमा भेट्नुले त्यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मध्येका एक हुन् ।  प्रधानमन्त्री मोदीलाई चुनाव जिताउनेदेखि विदेशमा भाषण दिने र कार्यक्रमको व्यवस्थापन गर्ने व्यक्ति हुन् चौथाइवाले । मोदीका हरेक विदेश भ्रमण सफल पार्नमा चौथाइवालेको हात रहेको छ । 

उनले त्यहाँ के बोल्ने, के नबोल्ने भन्ने विषयका बारेमा एक महिना अघिदेखि नै तयारी थालेका हुन्छन् । कुनै देश जाने कार्यक्रम तय भएपछि उनी त्यसअघि नै त्यहाँ पुग्छन् र त्यहाँको माहोल सबै अध्ययन गरेर प्रधानमन्त्री मोदीको स्पीच तयार गर्छन् । विदेशमा मोदीले दिएको मन्तव्य सफल हुनुमा चौथाइवालेको हात रहेको छ । मोदी नेपाल भ्रमणमा जति पटक आएका छन् उनी त्यति पटक नै त्यसअघि आएर तयारीमा जुटेका छन् । 

यसअघि उनी २०७६ साउनमा एक कार्यक्रमका लागि उनी नेपाल आएका थिए । विदेश विभागका प्रमुख चौथाइवालेको भ्रमणभन्दा पहिले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, भारतीय विदेश सचिव हर्षवर्धन श्रृगंलाले नेपाल भ्रमण गरिसकेका छन् । त्यसपछि आज चौथाइवाले भ्रमणमा आएका छन् । उनी द्धारिका होटलमा बसेका छन् । उनी भोली फर्किने कार्यक्रम रहेको छ ।   

साभार: रातोपाटी

Copy link
Powered by Social Snap