


नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली वैशाखसम्म प्रधानमन्त्री रहने र त्यसपछि पत्तासाप हुने बताएका छन्।
ओली श्री ३ महाराजाधिराज बन्न खोजेको भन्दै उनले जनताले साथ नदिने पनि बताए।
‘ओली वैशाखबाट प्रधानमन्त्री हुन्नन्। त्यसपछि पत्तासाप,’ भृकुटीमण्डपमा आज आयोजित विरोध सभामा प्रचण्डले भने, ‘आजको नेपाल र विश्वमा श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ?’
उनले कम्युनिष्ट पार्टी फुटिसकेको पनि बताएका छन्।
Advertisement




संविधान बचायो भने दुई वर्षपछि चुनाव हुने पनि उनले बताए।
अहिले चुनाव भए जितिहालिन्छ भनेर मख्ख नपर्न पनि उनले अन्य पार्टीका नेतालाई आग्रह गरेका छन्।
ओली एक जनाले बाह्र सय केन्द्रीय सदस्य गठन गरेको पनि उनको भनाइ छ।
आफूहरूको पक्षमा ७० प्रतिशत केन्द्रीय सदस्य रहेको भन्दै प्रचण्डले चुनाव चिन्हमा कुनै विवाद गरिराख्नु नपर्ने बताए।
‘एक जना व्यक्तिले १२ सय केन्द्रीय सदस्य बनाउने? एक जनाको सनकमा संसद भंग हुने? चुनाव घोषणा?,’ उनले ओलीलाई लक्षित गर्दै भने।
ओलीले असंवैधानिक कदम चालेकोले जनताले संघर्षबाटै सच्याउनुपर्ने बताएका छन्।
प्रतिगमन नसच्चिएसम्म संघर्ष गरिराख्ने प्रचण्ड बताउँछन्।
‘अझै जरूरी परे कठोर संघर्ष हुन्छ तपाईंहरू तयार नै रहनुहोला,’ प्रचण्डले कार्यकर्तालाई भने।
अदालतले ओलीले चालेका असंवैधानिक कदम सच्याउने भरोसा आफूहरूले गरेको उल्लेख गरेका प्रचण्डले तर सडकबाट संघर्ष भने अन्तिमसम्म पनि छाड्न नहुने बताएका छन्।
‘अदालतसँग सम्मान गर्ने हो केही गर्न मिल्दैन। अदालले असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउनेछ,’ उनले भने, ‘अझै हामीलाई जनतामाथि भरोसा छ। जनताले सडकबाट पनि प्रतिगमन सच्याउन सक्छ।’
वैशाखमा ओलीले चुनाव नगराउने पनि उनले बताए।
‘यो हुनेवाला चुनाव होइन। चुनाव हुन्छ भनेर भ्रम राख्न हुन्न,’ उनले भने, ‘हुँदाखाँदाको बहुमत छाडेर यस्तो दुर्घटना गर्नेले चुनाव गराउँछ?’
प्रधानमन्त्री ओली कसैको गोटी भएको आरोप प्रचण्डको छ। तर उनले कसको गोटी भएका हुन् भन्ने खुलाएनन्।
साभार: रातोपाटी


