२०८१ पुष २२

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनकाे बैंक बनाइने उनले बताए ।


Advertisement


किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।

कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुनेछ । एटीएम र भिसा कार्ड चिप्समा चल्छन् भने किसान क्रेडिट कार्ड क्युआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन ।

यो कार्डले सुरुआती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्ने कृषि विकास बैंकका डिजिटल बैकिङ विभाग प्रमुख बासु अधिकारी बताउँछन् । बैंकले नगद भुक्तानी प्रदायकहरु गाउँस्तरमा खडा गर्ने र सोहीमार्फत किसानले कृषि कर्मका लागि चाहिएको बेला नगद लिन सक्ने व्यवस्था किसान क्रेडिट कार्डमार्फत हुनेछ ।

किसान एपलाई खोल्न, पढ्न तथा आˆनोबारे केही जानकारी थप गर्न किसानलाई बैंकले युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ । किसान एप सञ्चालनको प्रक्रिया किसानले कम्तिमा एउटा मोबाइल बोकेका हुन्छन् भन्ने अवधारणामा निर्माण गरिएको बैंकले जनाएको छ ।

यससँगै आधुनिक प्रविधिमैत्री बन्न सफल भएको कृषि विकास बैंकको दाबी छ । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने, स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिका साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणालीसमेत बलियो र भरपर्दो हुने बैंकको विश्वास छ ।

कृषि विकास बैंकले वित्तीय बजारको करिब ४ प्रतिशत हिस्सा ओगटेको छ । करिब २७७ अर्ब रुपैयाँको कर्जा, निक्षेप र ४६ अर्ब जमानत कारोबार गरिरहेको कृषि विकास बैंकका करिब १५ लाख ग्राहकहरु छन् । करिब ३ लाख शेयरधनीहरु २७८ वटा कार्यालय सन्जालसँग आबद्ध छन् । यी कार्यालयहरुबाट कूल कर्जाको ८५ प्रतिशतभन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एकमात्र बैंक बनेको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap