२०८१ आश्विन ४

छापामार शैलीमा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपर्‍योः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने सडयन्त्रमुलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।

उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पनि बताए । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनुशासित प्रतिनिधिसभाको आवश्यकता रहेको तर्क गरे ।


Advertisement


सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताए ।

सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताए । सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधि सभा विघटन गरी अनुशासित प्रतिनिधिसभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पारे ।

निर्वाचनका लागि द्विविधा मुक्त भएर अगाडि बढन समेत अर्थमन्त्री पौडेलले आग्रह गरेका छन् । अझैपनि केही मानिसहरु प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि भन्ने भ्रमले छातिमा पोस्टर टाँसेर सडकमा बसिरहेको बताए । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधि सभा पुनःस्थापना हुने कुनै सम्भावना नभएको उनको भनाई छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap