२०८१ आश्विन १

मार्ने उद्देश्यले जनकपुरमा प्रहरीद्वारा आक्रमण भएको प्रचण्ड–माधव पक्षको आरोप

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले बिहीबार घोषणा गरिएको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनावद्ध ढंगले आफ्ना केही नेतालाई मार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ ।

शुक्रबार जनकपुरधाममा सो पार्टीको धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले केही नेताको हत्या गर्ने उद्देश्यले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाए ।


Advertisement


‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको क्रममा प्रहरी एक्कासी जनकपुरधामको शिव चोकमा आएर सुनुयोजित ढंगले स्थायी समिति सदस्य मातृकाप्रसाद यादव र नेता रामचन्द्र झालाई मार्ने योजना अनुसार प्रहरीले फायरिङ गरेको हो,’ उनले भने ।

उनले भने, ‘प्रहरीले योजनावद्ध ढंगले प्रदर्शनकारीमाथि ढुंगामुढा सहित गोली, लाठी बर्साउनु निन्दनीय हो, पार्टीका शीर्ष नेताहरुलाई मार्ने उद्देश्यले प्रहरीले आतंक मच्चाएकाले यसको अनुसन्धानको समेत माग गर्दछु ।’

उनले संघीयता, धर्मनिरपेक्षता, समावेशिता सहितका प्राप्त उपलब्धिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समाप्त पार्नका लागि असंवैधानिक कदम चालेपछि विरोधमा बाध्यात्मकरुपमा मुलुकमा बन्दको घोषणा गर्नुपरेको स्पष्ट पारे ।

त्यस्तै केन्द्रीय सदस्य श्रवण यादव बरबरियाले प्रहरीले न्यून संख्यामा रहेका प्रदर्शनकारीमाथि बल प्रयोग गरी योजनावद्ध ढंगले नेता रामचन्द्र र नेता मातृका यादवमाथि हमला गरेको आरोप लगाए ।

नेकपा धनुषाका संयोजक सुधिर साह र सहसंयोजक दिपक यादवले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनमा भएको दमन र आक्रमणमा संलग्नमाथि कारवाहीको माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वाग्रही रुपमा अकारण स्थानीय प्रहरी÷प्रशासनले ५० औँ राउण्ड गोली, अश्रुग्यास, लाठी प्रहार तथा ढुंगा प्रहार गर्दै हाम्रो केन्द्रीय नेताहरुलाई ज्यान मार्ने प्रयास गरेका छन् ।’

यस क्रममा दर्जनौँ कार्यकर्ताहरुलाई बन्दी बनाई पूर्वमन्त्री मातृकाप्रसाद यादव, पूर्वमन्त्री रामचन्द्र झा, शहिदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया, कारीराम यादव, प्रदीप साहलाई गीम्भर घाइते बनाउनुको साथै दर्जनौँलाई घाइते बनाएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रशासनको उक्त कार्यको घोर भत्र्सना गर्दछौँ । साथै सम्बन्धित निकायले कडा कारवाही गरोस् भन्ने जोडदार माग गर्दछौँ ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap