२०८१ पुष ८

निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आयोगको आह्वान

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आह्वान गरेको छ । निर्वाचन दिवसको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस्तो आह्वान गरेका हुन् ।

‘नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले मताधिकारको उपयोग गर्न पाएको गौरवमय दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ साल देखि प्रत्येक बर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन प्रारम्भ गरे बमोजिम आज हामी “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने  मुल नाराका साथ पाँचौ निर्वाचन दिवस, २०७७ मनाउन गइरहेका छौ । यस महत्वपूर्ण अवसरमा म सम्पूर्ण नेपाली मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू प्रति हार्दिक शुभकामना  व्यक्त गर्दै आगामी २०७८ बैशाख १७ र २७ गते दुई चरणमा हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आह्वान गर्दछु’, थपलियाले सोही अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने । 


Advertisement


थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनको दीर्घकालिन सोँच सहित आयोगले निर्वाचन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै लगेको बताए ।  यसै सिलसिलामा निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटि रहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचको निम्ति मतदान स्थल एवम् मतदान केन्द्रहरू सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि थपलियाले बताए । 

“निर्वाचन साधन, शक्ति र सम्पतिबाट प्रभावित हुन हुँदैन, निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनु पर्दछ” भन्ने सर्वमान्य सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नु सबैको दायित्व भएको पनि उनले बताए । ‘खर्चिलो र भड्किलो हुँदै गएको निर्वाचनलाई पद्धतिगत नियन्त्रण र नियमनद्वारा मितव्ययी,  मुल्य र मान्यतामा आधारित बनाई अनपेक्षित आर्थिक क्रियाकलापबाट निर्वाचन प्रभावित गर्ने विषयलाई दण्डनीय बनाउनै पर्दछ भन्ने कुरामा कसैको विमति हुनुहुँदैन ।

यसको लागि निर्वाचन व्यवस्थापन गर्ने निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, निजी क्षेत्र, नागरिक समाज लगायत निर्वाचन सरोकारवालाहरूको साझा संकल्प र इमान्दार प्रयत्न आवश्यक पर्दछ भन्ने तथ्यलाई महशुस गरी आयोगले एकिकृत निर्वाचन आचार संहिता तयार गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ’, उनले भने । निर्वाचन आचार संहिता नैतिक एवम् कानूनी बन्धनको रूपमा रहने र सबै सरोकारवालाहरूको निम्ति बाध्यकारी हुने भएकोले यसको पूर्ण परिपालनाको लागि सबै सरोकारवालाहरूसँग आग्रह समेत गरे । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap