१६ फागुन, चितवन । रत्ननगरस्थित बकुलहर अस्पतालको गेट नजिकै घर भएका प्रताप डल्लाकोटी अस्पतालमा बिरामीको चाप बढेको देखेर छक्क पर्छन् । एक वर्षअघिसम्म सुनसान हुने अस्पतालमा अहिले विरामीको चाप थेगिनसक्नु छ । यसलाई उनी अस्पतालप्रति जनताको विश्वास बढेको भनेर बुझेका छन् ।
‘केही वर्षअघिसम्म यतिका धेरै विरामी आउँथेनन्, केही आउथेँ दिनभर जस्तो सुनसान नै हुन्थ्यो, तर अहिले अस्पतालको ओपीडी, फार्मेसी, ल्याव जहाँसुकै बिरामीको भिड देख्छु,’ डल्लाकोटी भन्छन्, ‘अस्पतालप्रति जनताको विश्वास जागेको छ ।’
Advertisement
हुन पनि अस्पतालको सेवा अहिले विस्तार भएको छ । सेवा विस्तार हुँदा सामान्य उपचारको लागि पनि जिल्ला सदरमुकाम भरतपुर धाउनुपर्ने बाध्यता हटेको छ । अस्पताल परिसर अहिले पहिलेको भन्दा सफा र सुन्दर छ । मूल भवनको तला पनि थपिएको छ । यससँगै विरामीको चाप पनि ह्वात्तै बढेको छ ।
पहिले दैनिक करिब २ सयको हाराहारीमा उपचारका लागि बिरामी अस्पताल पुग्ने गरेकोमा अहिले सो संख्या बढेर दैनिक औसत ४ सयको हाराहारीमा पुगेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. विश्वबन्धु बगाले बताउँछन् ।
‘अस्पतालमा बिरामीको संख्या बढ्नु खुसी हुने कुरा त होइन, तर अस्पतालले आफ्नो सेवालाई विस्तार र गुणस्तरीय बनाउँदै लगेपछि विरामीहरु आउन थाल्नुभयो, आशा र विश्वास जाग्यो,’ डा. बगाले भन्छन् ।
२०६५ सालदेखि १५ शय्यामा सञ्चालित अस्पताल हाल ४० शय्या क्षमताको छ । स्थानीय सरकार मातहत रहेर सञ्चालन हुँदै आएको अस्पताललाई हालैमात्रै प्रदेश सरकारले आफू मातहत सञ्चालन गर्ने निर्णय गरेको छ ।
अस्पताललाई कम्तीमा १ सय बेड सञ्चालन स्वीकृती लिने गरी पहल अघि बढाइएको मेसु डा. बगालेले बताए । ‘४० बेडले धान्न सक्ने अवस्था छैन, यो अवस्थाबारे हामीले प्रदेश सरकारलाई जानकारी गराएका छौं,’ डा. बगालेले भने, ‘कम्तीमा पनि एक सय बेड सञ्चालन गर्नुपर्छ अन्यथा चाप धान्न मुस्किल पर्छ ।’ अस्पतालबाट गत वर्ष मात्रै १ लाख ४८ हजार विरामीले सेवा लिएको तथ्यांकमा उल्लेख छ ।
डे-केयरजस्तो थियो अस्पताल
२०५३ सालको एसएलसी परीक्षामा बोर्ड फस्ट हुन् मेसु डा. विश्ववन्धु बगाले । उनी १० औं तहका चिकित्सक हुन् । डा. बगाले बकुलहर रत्ननगर अस्पतालको मेसु भएपछि नै अस्पतालले रूप फेर्न थालेको हो । सामान्य विरामी, सामान्य उपचार र सामान्य गतिविधिमा चलिरहेको अस्पताललाई अहिले डा. बगालेले पूर्वी चितवनका जनताको उपचार गर्ने भरपर्दो थलोका रुपमा विकास गर्दै लगेका छन् ।
‘म आउनु अघिसम्म चौबिसैै घण्टा आकस्मिक सेवा दिने भनिए पनि नियमित जस्तो थिएन । प्रसूति गराउनेबाहेकका बिरामी भर्ना गरेर राख्ने अवस्था थिएन, साधारणतया डे-केयर अस्पताल जस्तो थियो, मैले चिकित्सकसहित चौविसै घण्टा आकस्मिक सेवा र फार्मेसी सञ्चालनको व्यवस्थापन गरेँ,’ डा. बगालेले भने, ‘अन्तरंग सेवाको नियमितता र सृदृढीकरणमा मेरो विशेष ध्यान छ ।’
२०७६ साउनमा समायोजन भई भरतपुर अस्पतालबाट बकुलहर रत्ननगर अस्पतालको मेसु बनेका डा. बगाले आएपछि अस्पतालले भौतिक विकास, स्वास्थ्य सेवा थप, विरामी भर्ना जस्ता महत्वपूर्ण काम गरे । स्वास्थ्य बिमाको भुक्तानीलाई कडाइका साथ अपडेट गर्ने, सीमित स्रोत र साधनहरुको भरपुर उपयोग गरेर सेवा दिने नीति लिए । त्यसपछि नै अस्पतालप्रति आकर्षण बढ्दै गएको उनको अनुभव छ ।
बिमाबाट धानिएको अस्पताल
अस्पतालमा उपचार सेवा लिन आउने बिरामीले गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट अस्पताल धानिएको मेसु डा. बगाले बताउँछन् । अस्पताल विकास समितिबाट तलव भत्ता खाने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मुख्य आर्थिक स्रोत नै स्वास्थ्य बिमा कार्यक्रम हो ।
‘बिमा कार्यक्रमलाई राम्रोसँग सञ्चालन गर्न सक्यो भने त्यसले सजिलैसँग अस्पताल चलाउन सकिने रहेछ भन्ने उदाहरण यो अस्पताल बनेको छ,’ डा. बगाले भन्छन्, ‘हामीले अझै चार करोड रकम बिमाको लिन बाँकी छ, बिमाको उपचार रकम माग दावीलाई चुस्त बनाउन मेरो विशेष जोड छ । बीिमा नगरेका बिरामीसँग लिइने न्यून सेवा शुल्कबाट पनि केही भरथेग भैरहेको छ ।’ अस्पतालको त्यस्तो ठूलो आन्तरिक स्रोत केही पनि नभएको डा. बगाले बताउँछन् ।
अस्पताल विकास समितिलाई व्ययभार पर्ने गरी ६० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले काम गरिरहेका छन् । ‘अस्पताल सञ्चालन खर्च खासै आउँदैन, अस्पताल सदृढीकरण कार्यक्रमबाट वाषिर्क २० लाख आउँछ, त्यो रकमबाट सामान्य मर्मत र सामान्य सेवा सञ्चालन गर्न पुग्छ, अस्पतालको अरु स्रोत त्यस्तो केही छैन,’ डा. बगाले भन्छन् ।
जनशक्तिको उचित विन्यास
अस्पतालको मूल भवनमा विरामीको चाप निकै भएपछि जिल्ला समन्वय समिति चितवनको एक करोड रकम आर्थिक सहयोगमा एक तला थप गर्ने काम अहिले भैरहेको छ । यसमा १० बेडको आईसीयू, ५ बेडको एनआईसीयू, १० बेडको पोष्ट अपरेसन वार्ड, २ वटा मोडुलर अप्रेशन कक्ष, केही क्याबिन र प्रसूति कक्ष राख्ने योजना रहेको डा. बगालेले बताए ।
शान्ति मेड नामक संस्थाले अस्पतालको ‘बी’ ब्लक भवन बनाइदिएको छ । यसमा अहिले आकस्मिक कक्ष र ओपीडी सेवा चलिरहेको छ ।
प्रदेश सरकारको १ करोड ४४ लाखको लागतमा मातृ शिशु भवन बनाउन ठेक्का प्रकृया अघि बढेको छ । गर्भवती महिला, प्रसूति सेवा र नवजात शिशु सम्बन्धी एकीकृत सेवा यही भवनबाट दिइने मेसु डा. बगालेले बताए । ‘यसलाई ‘ए’ ब्लक भवनको पहिलो तल्लाको अप्रेसशन कक्षसँग जोडिने छ । मातृ शिशु भवनको भुइँ तलामा ओपीडि, सानो ल्याव, फार्मेसी, भर्ना सबै त्यहीँबाट हुनेछ,’ डा. बगालेले भने, ‘यसले बिरामीको उपचारमा सबैलाई सहज हुन्छ भन्ने विश्वास लिएका छौं ।’
अहिले भैरहेको फार्मेसी निकै सानो र कामचलाउ मात्रै भएकाले चौबिसै घण्टा सेवा दिन मिल्ने गरी १५ लाखको लागतमा नयाँ फार्मेसी भवन निर्माण अन्तिम चरणमा छ ।
अस्पतालमा मेडिसिन सेवा, सर्जरी, प्रसूति, बालबालिका, छाला, नाक/कान/घाँटी, रेडियोलोजी, अर्थोपेडिक, अल्ट्रासाउण्ड, एक्सरे लगायतका सुविधा उपलब्ध छन् । गएको भदौबाट ठूला अप्रेशन पनि सुरु भएको छ । केही सेवा अघिदेखि नै थिए भने, केही डा. बगाले आएपछि थप गरिएका हुन् ।
राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा अस्पतालमा अहिले ६ बेडको डायलायसिस सेवा पनि उपलब्ध छ । यसमा केही बेड थपेर रातिमा समेत सञ्चालन गर्ने योजना बनाएको डा. बगालेले सुनाए । प्रदेश सरकारसँग समन्वय गरेर डायलायसिस सेवा सञ्चालन सम्बन्धी तालिम तथा परामर्श केन्द्र बनाउने प्रस्ताव गरिएको मेसु बगालेले बताए ।
२०७६ साउनबाट बालरोग सेवा, २०७६ जेठबाट एमडीजीपी चिकित्सकसहित ओपीडि सेवा, २०७६ भदौबाट नाक, कान, घाँटी सेवा, २०७६ पुसबाट नियमित स्थायी बन्ध्याकरण सेवा, २०७७ फागुनदेखि २ पटक खोप सेवा सुरु भएको थियो ।
फागुनको पहिलो साताबाट माइक्रोवायोलोजी सेवा सुरु भएको छ । यसका लागि ५ लाख रकम खर्च भएको डा. बगालले बताए । रगत र पिसाबको कल्चर गराउन भरतपुर वा बाहिरका निजी क्लिनिकमा लैजानुपर्ने बाध्यता अहिले अन्त्य भएको डा. बगालेले बताए । अहिले प्रयोगशालामा १२ जना प्राविधिकहरुले काम गरिरहेका छन् ।
अस्पतालको चुनौती : जग्गा, जनशक्ति र पुँजी
बकुलहर रत्ननगर अस्पताल १९ कठ्ठा जग्गामा फैलिएको छ । अस्पतालसँग पर्याप्त जग्गा नहुँदा सवारी साधन पार्किङमा समस्या छ । अस्पताल परिसरमा नै पार्किङ गराउनुपर्ने बाध्यता छ । थप भौतिक पूर्वाधारको विकास गर्न पनि जग्गाको अभाव रहेको मेसु डा. बगाले बताउँछन् । उनी भन्छन्, ‘हामीसँग जग्गाको अभाव छ । अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि साँघुरो भएको अनुभूति हुन थालिसक्यो ।’
जग्गाका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको उनी बताउँछन् । रत्ननगर नगरपालिकाले अस्पतालका लागि एक विगाहा जग्गा उपलब्ध गराउने वचन दिएको छ ।
अस्पतालको अर्को चुनौती हो, सीमित जनशक्तिबाट सेवा प्रवाह । ‘सेवा थप वा विस्तार गर्दा जनशक्ति चाहिने तर त्यसका लागि दरवन्दी नहुँदा समस्या भएको छ,’ डा. बगाले भन्छन्, ‘अस्पताल विकास समितिबाट खर्च धान्न सकिँदैन, त्यसले ओएमएन सर्भे गरेर आवश्यक पर्याप्त दरवन्दी भए मन फुकाएर काम गर्न सकिन्छ, जनताले पनि सेवा पाउँछन् ।’
आकस्मिक ब्लड बैंक, थप विषेशज्ञ सेवा सञ्चालनका लागि उपकरण खरिद, डायलायसिस सेवा विस्तारका लागि उपकरण, प्रकोपजन्य रोगहरुको न्युनीकरणका लागि शिविरहरु सञ्चालन गर्ने योजना बनाए पनि रकमको अभाव हुने गरेको मेसु डा. बगाले बताउँछन् । ‘योजना मात्रै भएर भएन, पूँजी नै महत्वपूर्ण कुरा रहेछ,’ डा. बगालेले भने, ‘यद्यपि सबैसँगको सहकार्य र सहयोगमा पूर्वी चितवनको नमूना अस्पताल बनाउने मेरो लक्ष्य छ ।’
सबैको साथ पाएँ : डा. बगाले
सांसद विकास कोषको २० लाख र अस्पतालको ४ लाख गरी २४ लाखको लागतमा अस्पताल परिसरमा मोज्याक टाइल बिछ्याउने काम भएको छ । यसबाट अस्पताल सफा देखिएको छ । हिउँदमा धुलो र बर्खामा हिलो हुने समस्याबाट अस्पतालले मुक्ति पाएको छ । ठाउँ-ठाउँमा फूलको गार्डेनसमेत बनाइएको छ ।
अस्पताल विकास समिति र सरकारी गरी १२० जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी छन् । नेपाल सरकारका २७ जना स्थायी, करारका ४९ जना, शान्तिमेड नेपालले खर्च व्यहोर्ने गरी १६ जना र अस्पताल अन्तर्गत विभिन्न वडामा गरी १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु छन् । ‘अस्पतालले सेवा विस्तार गर्नु र जनशक्तिको उचित विन्यास गरेर काम गर्दा जनतामा भरोसा बढेको अनुभूति भएको छ,’ डा. बगालेले भने, ‘मैले एक्लै मात्रै सबै काम गरेको त होइन, रत्ननगर नगरपालिका प्रमुख, पूर्वअध्यक्षज्यूहरू सबैको साथ र सहयोगले अस्पताल अस्पताल जस्तो बन्दै गएको हो ।’
प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि अटोल्याब मेसिन ल्याइएको छ । दुई सय लिटर क्षमताको स्वचालित फोहोर प्रशोधित मेसिन जडान गरिएको छ।
Credit: OnlineKhabar