२०८१ कार्तिक २

संसद सचिवालयमा अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि हिउँदे अधिवेशनको दोस्रो बैठक बुधबार (आज) बस्दै छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र विपक्षी जसपाको अवरुद्ध पछि प्रतिनिधिसभाको पहिलो बैठक नै सूचना टाँसेर आजसम्मका लागि स्थगित भएको थियो ।

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता गराएका छन् ।



Advertisement


काँग्रेस, माओवादी केन्द्र र जसपाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे सचिवालयमा विरोधको सूचना दर्ता गरेकाले आजको बैठक सहज रूपमा सञ्चालन हुने काँग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

सरकारले तीन महिनाअघि जारी गरेको संवैधानिक परिषद्को कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश पारित हुन नदिने काँग्रेस, माओवादी र जसपाको रणनीति छ ।

रातोपाटीसँग उनले भनिन्, ‘हामीले हिजो विरोध पत्र दर्ता गराइसकेका छौं । आज त्यसमाथि छलफल हुन्छ । त्यो हुँदा सदन सहज ढंगले नै सुचारु हुन्छ । त्यो पारित हुन नदिने हाम्रो रणनीति छ ।’

यता संसद् सचिवालयले बुधबार दिउँसो एक बजे बस्नेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची सोमबार नै सार्वजनिक गरेको थियो ।

उक्त कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap