२०८१ कार्तिक ३

जसपामा दुई धार, यस्तो भयो आजको संसदीय दलको बैठकमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक कुनै ठोस निर्णय नगर्दै सकिएको छ । शुक्रबार सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा पार्टीको संसदीय दलको नेता चयन, पार्टीको विधान पारित गर्ने लगायतका विषयमा छलफल हुने भनिएपनि कुनै निर्णय नभई बैठक सकिएको हो ।

बैठकपछि सो पार्टीका नेताहरुले दुई थरी बिचार व्यक्त गरेका छन् । जसपाका नेता राजकिशोर यादवले आफ्नो दलले सत्ताको नेतृत्व गरेर जान प्रस्ताव गर्ने बताए । उनले सो दलले उठाएका मुद्धा संवोधन गर्ने दलसँग सत्ता समीकरण गरेर जाने उल्लेख गरे । नेकपा एमाले तथा नेपाली काँग्रेससँग सत्ता समीकरणका लागि आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने र जो आफ्नो एजेण्डामा सहमति जनाउँछ त्यो दलसँग मिलेर सरकार बनाउन सक्ने बताए । 

तर पार्टीका अर्का दुई प्रमुख नेताहरु डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपा एमालेसँग कुनै हालतमा सहकार्य हुन नसक्ने बताएका छन् । डा.बाबुराम भट्टराईले अहिलेको प्रमुख मुद्धा नै ओलीलाई सत्ताबाट बर्हिगमन गर्ने रहेकोले एमालेसँग सहकार्य हुन नसक्ने बताए ।


Advertisement


उनले हिजो प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा रहेका लोकतान्त्रिक शक्तिसँग सहकार्य हुने उल्लेख गरे । यस्तै उपेन्द्र यादवले जसले संसदको हत्या गर्ने काम ग¥यो त्यस्तो प्रतिगामीसँग फेरी सहकार्य हुन नसक्ने बताए । उनले एमालेसँग वार्ताका लागि बनाएको कार्यदल केवल सांसद रेशम चौधरीको रिहाइका लागि मात्र भएको दावी गरे । 

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जानकारी नै नदिई महन्थ ठाकुरले एमालेसँग वार्ताका लागि २ सदस्यीय कार्यदल बनाएका थिए ।  नयाँ सत्ता समीकरणबारे राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर बनेको जसपामा पूर्व पार्टीका स्पष्ट दुई धार देखापरेको हो । 

हाम्रो माग सम्वोधन गर्ने प्रतिगामीलाई साथ दिन्छौँ : उमाशंकर अरगरिया

शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुनका लागि गरेको आग्रहबारे सांसदहरुलाई जानकारी गराइएको थियो ।  आजै काँग्रेससँग पनि छलफल राखिएकोले मुख्य नेताहरु हतारिएका थिए । एमाले तथा काँग्रेस दुवै पक्षबाट कस्तो कुरा आउँछ त्यसका लागि छलफलमा सहभागी हुने कुरा भएको समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता उमाशंकर अरगरियाले जानकारी दिए । 
यस्तै आजको बैठकमा पार्टीको विधानको मस्यौदा पेश गर्ने भनिए नि पेश गरिएन । विधान बनाउनका लागि रामसहाय यादवको दुई सदस्यीय टोलीलाई पार्टीको मस्यौदा बनाउँने जिम्मेवारी दिएको थियो । 
आजको बैठकमा डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतले बोलेका थिए । 
संसदीय दलको बैठक बसेपनि औपचारिक बैठक हुन नसकेको अरगरियाले बताए । दलको विधान नै पेश नभएपछि छलफल अगाडि बढ्न नसकेको उनले बताए । 

जसपाले घनिभूत रुपमा एमाले र काँग्रेससँग सरकारमा जानेबारे रेशम चौधरी रिहाइ, लाल आयोगको प्रतिवेदन कार्यान्वयन, मधेश आन्दोलनका क्रममा लगाइएका मुद्धा फिर्ता र सरकारले गरेको सहमति कार्यान्वयनका विषय उठाउने तयारी गरेको छ । साथै संविधान संशोधनको विषय पनि प्रमुख मुद्धा रहेको अरगरियाले बताए । 

जसपामा दुई धार देखिएको प्रश्नमा सचेतक अरगरियाले भने–‘हामी के कुरामा प्रष्ट छौँ भने विगतमा हाम्रो मागप्रति सबैले बेइमानी गरेका छन् । काँग्रेसले पनि बेइमानी गरेको छ, एमाले, माओवादी सबैले बेइमानी गरेका हुन् । मधेसवादीका लागि त सबै प्रतिगमनकारी भयो । जुन प्रतिगमनकारी हाम्रो माग सम्वोधन गर्नेगरी आउँछ हामी त्यतातिर लाग्छौँ ।’

संसदीय दलको बैठकपछि डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि निस्किएका थिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap