२०८१ कार्तिक ३

तातोपानी नाकाबाट पहिलो पटक नेपालमा भित्रियो रासायनिक मल

उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो । 

साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताए ।


Advertisement


अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४÷५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताउनुभयो । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताए ।

उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरुले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्ट अध्यक्ष रमेश शेर्पाले बताउनुभयो । कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ । चीनबाट ५ दिनमा नाकासम्म र ७ दिन भित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाले बताए ।

शुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याइएको हो । कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरुलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताउनुभयो । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिटै प्रयोग गर्न पाउने छन् ।

चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आव्हान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै ल्याउने विकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो । तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले बताए , हाल किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् ।

बंगलादेशबाट जिटुजीमार्फत मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात शुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने दावी महानिर्देशक डा. शर्माले गरे ।

आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सय वटा बोरा हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । मलको प्रति बोरा औसत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा रहेको छ । १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, विदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रति बोरामा मल खरिद गर्न पाउनेछन् ।

भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीले अहिले मलको मात्र आयात गर्ने गरेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap